Skip This
कोशीमा शृंखलाबद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहका १२ जना पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २१ बुधबार २o:o३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा शृंखलाबद्ध ट्रान्सफर्मर चोरी गर्ने गिरोहका १२ जना पक्राउ

२२ वटा ट्रान्सफर्मरबाट चोरी भएको ३६८ किलो तामा बरामद

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार २o:o३:oo

कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा श्रृंखलाबद्ध विद्युत् ट्रान्सफर्मर चोरी गर्ने गिरोहका व्यक्तिहरूलाई प्रहरीले लामो अनुसन्धानपछि पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीको विशेष अनुसन्धान समूह र जिल्ला प्रहरीको संयुक्त अनुसन्धान टोलीले १५ महिना लगाएर चोरीमा संलग्न सातजना र तामाको तार खरिद गर्ने पाँचजनासहित १२ जनालाई पक्राउ गरेको हो।

गिरोहले एक वर्षभित्रमा झापाबाट २ थान, मोरङबाट ८ थान र सुनसरीबाट १२ थान ट्रान्सफर्मर चोरी गरेको प्रहरीले जनाएको छ। ‘कोशी प्रदेश प्रहरीले मातहतको विशेष अनुसन्धान टोली खटाएर स्थानीय प्रहरीको सहयोगमा १५ महिनापछि बल्ल गिरोहलाई पक्राउ गरेर नेटवर्क ध्वस्त बनाउन सफल भयौँ,’ कोशी प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले भने।

डिआइजी कार्कीका अनुसार इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्ससम्बन्धी प्राविधिक सिपले दक्ष चोरहरूको गिरोहले ट्रान्सफर्मर काट्ने बिजुलीको हेभी ग्रेन्डर, पोलमा चढ्ने फलामको भर्‍याङ, तार बोक्न पिकअप भ्यान र अन्य विभिन्न औजारहरू प्रयोग गरेर सुनियोजित रूपले चोरी गर्दै आएका थिए। एउटा ट्रान्सफर्मरभित्र ५ देखि १० लाख रुपैयाँसम्मको तामाको तार हुने र उनीहरूले सस्तोमा २ देखि ३ लाख रुपैयाँसम्ममा भाँडापसले र कवाडी व्यापारीहरूलाई बिक्री गर्ने गरेका पाइएको छ।

चोर गिरोहबाट खुद्रा खरिदकर्ता, कवाडीवाला र भाँडापसलेहरूले भाँडा बनाउने मेटल उद्योगहरूलाई तामाको तार बिक्री गर्ने गरेका डिआइजी कार्कीले बताए। उनले भने, ‘एउटा ट्रान्सफर्रमरमा कम्तीमा ५ देखि १० लाखसम्मको तामाको तार हुन्छ।’

गिरोहका सदस्य प्राविधिकदेखि पसले र कवाडी व्यवसायीसम्म
प्रहरीले चोरीमा संलग्न अभियोगमा गिरोहका सदस्यहरू मोरङ ग्रामथान–४ का अर्जुनकुमार माझी, ग्रामथान–५ का इरज धामी, सुनसरी दुहबी–३ का अनुज विश्वास, मोरङ बेलबारी–४ का अर्जुन चौधरी, सुनसरीको दुहबी–४ बस्दै आएका भारतीय नागरिक आलम मियाँ, दुहबी–२ का प्रयाग खाँ र मोरङ बेलबारी–३ का रञ्जित तामाङलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

त्यसपछि तामाको तार खरिद गर्ने व्यापारीहरू विराटनगर–३ का लक्ष्य प्रधान, विराटनगर–६ का कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी–३ का योगेश अग्रवाल, दुहबी–२ का कपिल भट्ट र इटहरी–४ का सीताराम राईलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रहरीले गिरोहबाट चोरी भएकोमध्ये ३६८ किलो तामाको तारसहित एउटा पिकअप भ्यान,  १२ थान मोबाइल, ६ वटा मोटरसाइकल, ट्रान्सफर्मर खोल्न प्रयोग गरिएका डायल रेन्च, ग्राइन्डर, ह्याक्सो, पिलास, छिनो, साङ्ली, झम्पललगायतका औजारहरू बरामद गरेको छ। 

कोशी प्रहरीले ३५ जनाको विशेष अनुसन्धान समूह खटाएर अप्रेसन नै चलाएका थियो। डिआइजी कार्कीले भने, ‘हामीले ३५ जना सादा पोसाकका प्रहरी निरन्तर चोरको गिरोह खोज्न खटाएका थियौँ। १५ महिनाको मेहनतपछि  बल्ल लक्ष्यमा पुग्यौँ।’

यसरी सफल भयो प्रहरीको अप्रेसन
निरन्तर बिजुलीका महँगा ट्रान्सफर्मर चोरी हुन थालेपछि प्रहरीलाई चोर पत्ता लगाएर पक्राउ गर्न चौतर्फी दवाव थियो। तर, प्रहरीले चोरको सुराक पाउन सकेको थिएन। अप्रेसनका क्रममा ९ साउनको राति रंगेली नगरपालिका–९ स्थित इँटाभट्टामा डिप बोरिङको ट्रान्सफर्मर पोलमा शंकास्पद तीन व्यक्तिलाई प्रहरीले देखेपछि प्रहरीले पक्राउ गर्न खोजेको थियो। तर ती व्यक्तिहरु फरार भएका थिए।

पछि अर्जुनकुमार थारु नामका व्यक्तिलाई पोलमै चढिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनकै बयानका अधारमा प्रहरीले निरन्तर अनुसन्धान गरेर गिरोहमा संलग्न चोर तथा चोरीको तार खरिद गर्ने व्यापारी र मेटल उद्योगहरुमा छापा मारेर चोरीका तार बरामद गर्न सफल भएको थियो। अप्रेसन सफल बनाउन अनुसन्धान टोलीले भारतको पश्चिमवंगाल र विहारका विभिन्न शहरमा पुगेर पनि अनुसन्धान गरेको प्रहरीले जनाएको छ।

थोक व्यापारी र उद्योगी अझै पक्राउ परेनन्
प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न चोर र चोरीको तार खरिद गर्ने खुद्रा व्यापारीहरुलाई पक्राउ गरे पनि थोकमा तार खरिद गर्ने उद्योगीहरुलाई भने पक्राउ गरेको छैन। प्रहरीले सुनसरीको इटहरी– १४ स्थित इरज धामीको कोठाबाट ७ केजी तामाको तार बरामद गरेको थियो। तर, उनी पक्राउ परेका छैनन्।

यसैगरी, मोरङ बुढीगंगा– ३ स्थित विनय शाहको एसएस मेटल उद्योगबाट ११५ केजी, विराटनगर– ६ का अजयकुमार साहको भाँडा पसलबाट ६२ केजी र ईटहरीस्थित दिलिप चौधरीको कवाडीबाट १२० केजी तार बरामद भएको थियो। तर अहिलेसम्म उनीहरु कोही पक्राउ परेका छैनन्। डिआइजी कार्कीले अनुसन्धान भर्खरै नतिजाउन्मुख अघि बढेकाले पक्राउ परेकाहरुको बयानका आधारमा सबैलाई पक्राउ गर्ने बताए। उनले भने, ‘कसैलाई पनि काखा र पाखा हुँदैन। सबै कानुनको दायरामा आउँछन्।’