
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् । १६ महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बुधबार आंशिक ठहरको फैसला सुनाएको छ ।
उनीविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको थियो । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले गैरकानुनी सम्पत्ति आर्जन र हानि-नोक्सानीसम्बन्धी अर्काे भ्रष्टाचार मुद्दामा पनि उनलाई दोषी ठहर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई एक वर्ष कैद तीन करोड ४५ लाख २२ लाख ३ सय ८७ रुपैयाँ जरिवाना र सो बराबरको सम्पत्ति जफतको फैसला भएको छ। हानि नोक्सानीसम्बन्धि भ्रष्टाचार मुद्दामा २९ साउनमा उनलाई सजाय सुनाइएने बिशेष अदालतले जनाएको छ।
हानिनोक्सानीको मुद्दामा थापासहित विमल कुमार पोखरेल र सागर पौडेल दोषी ठहर भएका छन् भने शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले सफाइ पाएका छन् ।
बिशेष अदालतको फैसला
मेयर थापाको १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ कुल सम्पत्ति देखिएकोमा सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँको मात्रै वैधानिक स्रोत खुलेको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो। दोहोरिएर मेयर भएका थापा पहिलो कार्यकालका लागि निर्वाचित भएको ७ असोज ०७४ देखि २९ माघ ०७९ सम्मको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । उक्त अवधिमा उनको आम्दानीभन्दा खर्च तथा लगानी अत्यधिक देखिएको थियो ।
जाँच अवधिको वैधानिक आयको विश्लेषणका क्रममा अख्तियारले मेयरका रूपमा सार्वजनिक सेवामा प्रवेश गर्नुअघि उनी र एकासगोल परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात रकम, सार्वजनिक सेवामा प्रवेशपश्चात् उनले प्राप्त गरेको पारिश्रमिक बचत, पत्नीको पारिश्रमिक बचत, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण, जग्गा बिक्री, कम्पनी आय र कृषि आम्दानीसमेत गरी जम्मा सात करोड ८६ लाख ५० हजार २०१ रुपैयाँको वैधानिक स्रोत खुलेको अख्तियारको दाबी थियो ।
त्यसैअवधिमा मेयर थापाको सम्पूर्ण व्यय (खर्च तथा लगानी)को पनि अख्तियारले विश्लेषण गरेको थियो । त्यसक्रममा घरजग्गा खरिद, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट उपभोग गरेको कर्जाको सावाँ–ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, विभिन्न कम्पनीहरूमा लगानी भएको खर्च, अध्ययन खर्च, सेयर खरिद खर्च, सवारीसाधन खरिदमा भएको खर्च, सेवा दस्तुरबापत तिरेको रकम र बैंक मौज्दात रकमसमेत गरी जम्मा १३ करोड २० लाख तीन हजार ३९१ रुपैयाँ खर्च तथा लगानी गरेको थिए।
यसरी अनुसन्धानको जाँच अवधिमा स्रोत खुल्न आएको मेयर थापाको वैध आयको अनुपातमा सोही अवधिमा खर्च तथा लगानी पाँच करोड ३३ लाख ५३ हजार १९१ रुपैयाँबराबरको सम्पत्ति ऋणात्मक देखिएको थियो ।
सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति थापाले श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा घरजग्गा, विभिन्न कम्पनीमा लगानी, सेयर खरिद, जीवन बिमा प्रिमियम भुक्तानी र बैंक खातामा मौज्दात रकम राखेको भन्दै उनीहरुलाई पनि प्रतिवादी बनाएको थियो ।