
चर्च ब्वाइज युनाइटेडले मंगलबार एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पालाई २–० ले हराएको छ । चर्च ब्वाइजको जितमा सुशन थापामगर र सुनील दंगालले समान एक गोल गरेका थिए । तर, खेलको ६२औँ मिनेटमा मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले दोहोरो पहेँलो कार्ड पाए । प्रशिक्षकलाई दिइएको दोहोरो पहेलो कार्डलाई लिएर विवाद भयो । जसका कारण खेल ३५ मिनेट रोकिएको थियो । ११ खेलमा २० अंक जोडेको चर्च ब्वाइज छैटौँ स्थानमा छ । हिमालयन समान खेलबाट १४ अंकका साथ नवौँ स्थानमा छ ।
न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ । जितसँगै ११ खेलमा १२ अंक जोडेको एनआरटी १०औँ स्थानमा उक्लिएको छ । ११ वटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सुगम रानाले गरेको एक मात्रै गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए ।
जावलाखेलको पुनरागमन
जावलाखेल युथले लिगमै मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ । जितसँगै ११ खेलमा १६ अंक जोडेको जावलाखेल आठौँ स्थानमा उक्लिएको छ । मच्छिन्द्र समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन आर्यन नाथ र सुजन तामाङले समान एक गोल गरे । मच्छिन्द्रका लागि राहुलकुमार योञ्जनले अग्रता गोल गरेका थिए ।