मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
जोसेफ स्टिग्लिज
२o८२ श्रावण २० मंगलबार ११:४५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी दादागिरीविरुद्ध ब्राजिलको साहसी सामना

Read Time : > 2 मिनेट
जोसेफ स्टिग्लिज
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार ११:४५:oo
  • आशा गरौँ, विश्वकै सबभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको धम्कीविरुद्ध साना–ठुला सबै देशले ब्राजिलको जस्तै साहस देखाउनेछन् 

दशकौँसम्म अमेरिका लोकतन्त्र, कानुनको शासन र मानव अधिकारका पक्षधरका रूपमा अगाडि रहन्थ्यो । यद्यपि, सो अवधिमा अमेरिकाको भनाइ र गराइबिच गम्भीर असमानता देखिन्थ्यो । शीतयुद्धको समयमा साम्यवादको विरोधका नाममा ग्रिस, इरान, चिलीलगायत स्थानमा निर्वाचित सरकार उल्ट्याउने कदम यी भिन्नताका उदाहरण हुन् । मुलुकभित्रै पनि अमेरिकामा दासप्रथाको अन्त्य भएको एक शताब्दीपछि पनि अफ्रिकी–अमेरिकी नागरिक अधिकार सुनिश्चित गर्न संघर्षरत थिए । अझै भन्ने हो भने पछिल्ला वर्षमा अमेरिकी सर्वोच्च अदालतले नश्लीय विभेदको दीर्घकालीन प्रभाव सुधार गर्न गरिएका प्रयासमा कटौती गर्ने गरी आक्रामक कदम चालेको छ । र, अमेरिका अहिले न त बोल्छ, न त सोअनुरूप काम नै गर्छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टीले यस अवस्थालाई यथार्थ बनाएका छन् ।

ट्रम्पको पहिलो कार्यकाल उनले कानुनी शासनप्रति देखाएको घृणाको चरम अभिव्यक्ति थियो । उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणजस्तो लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण मूल्यलाई उल्ट्याउने प्रयास गरेका थिए । उनले सन् २०२० को चुनावमा आफूले जितेको दाबी गरेका थिए र अझै पनि गरिरहेकै छन् । जबकि त्यसवेला जो बाइडेनले करिब ७० लाख बढी मत प्राप्त गरेका थिए, र दर्जनौँ अदालतले चुनावमा कुनै अनियमितता नभएको ठहर गरेका थिए ।

ट्रम्पलाई चिन्नेहरूलाई यो व्यवहार अनौठो नलाग्ला । तर, वास्तविक रूपमा चकित पार्ने कुरा के हो भने करिब ७० प्रतिशत रिपब्लिकनले सो चुनाव धाँधलीपूर्ण भएको विश्वास गर्छन् । धेरै अमेरिकी अहिले अनौठा षड्यन्त्रका सिद्धान्त र गलत जानकारीको भुमरीमा परेका छन् । ट्रम्प समर्थकका लागि लोकतन्त्र र कानुनको शासनभन्दा ‘अमेरिकी जीवनशैली’ संरक्षण गर्नु महत्वपूर्ण भएको छ, अर्थात्, अरू सबै मूल्यमा श्वेत पुरुषको वर्चस्व कायम राख्नु रहेको छ ।

राम्रो होस् वा नराम्रो, अमेरिका लामो समयदेखि अन्य देशका लागि एउटा आदर्श थियो । दुर्भाग्यवश अहिले विश्वभर यस्ता लोकप्रियतावादी नेता छन्, जो ट्रम्पको शैली पछ्याउँदै लोकतान्त्रिक संस्था निमिट्यान्न पार्न र तिनका आधारभूत मूल्यलाई तिलाञ्जली दिन तयार छन् । ट्रम्पकै झल्को दिने एक प्रमुख उदाहरण ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो हुन्, जसले अमेरिका क्यापिटोल भवनमा सन् २०२१ जनवरी ६ मा भएको आक्रमणलाई पछ्याएका थिए । ८ जनवरी २०२३ मा ब्रासिलियामा भएको असफल कु प्रयास अमेरिकी क्यापिटोल आक्रमणभन्दा ठुलो थियो । तर, ब्राजिलका संस्थाले दृढता देखाए र अहिले तिनले बोल्सोनारोलाई जवाफदेही बनाइरहेका छन् ।

यसैबिच ट्रम्प जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि अमेरिका उल्टो दिशातर्फ अग्रसर भइरहेको छ । उनी भन्सार वृद्धि रुचाउँछन् । तर, कानुनको शासनप्रति घृणा राख्छन् भन्ने तथ्य उनले फेरि प्रस्ट पारेका छन् । यहाँसम्म कि उनको पहिलो कार्यकालमा मेक्सिको र क्यानडासँग गरेका व्यापार सम्झौतासमेत उल्लंघन गरेका छन् । अहिले त उनले अमेरिकी संविधानलाई नै बेवास्ता गर्दै ब्राजिलले बोल्सोनारोको मुद्दा चलाउन नरोके ५० प्रतिशत भन्सार लगाउने धम्की दिएका छन् । ट्रम्पले विधिको शासन उल्लंघन गर्दै ब्राजिललाई दबाब दिएका छन् । ब्राजिलले भने बोल्सोनारोविरुद्धको मुद्दा संविधानसम्मत प्रक्रियाअनुसार अघि बढाइरहेको छ । अमेरिकी कंग्रेसले कहिल्यै भन्सार दरलाई कुनै राष्ट्रलाई राष्ट्रपतिको राजनीतिक आदेश पालना गर्न बाध्य पार्ने अस्त्रका रूपमा प्रयोग गर्न कानुनी स्वीकृति दिएको छैन र ट्रम्पसँग आफ्ना असंवैधानिक कदमको समर्थन गर्ने कुनै कानुनी आधारसमेत छैन ।

ब्राजिलले देखाएको व्यवहार अमेरिकाभित्रै भएको घटनाभन्दा ठ्याक्कै विपरीत छ । ६ जनवरीको विद्रोहमा संलग्नलाई जिम्मेवार बनाउने कानुनी प्रक्रिया ढिलो भए पनि सन्तुलित रूपमा अघि बढिरहेको थियो । तर, ट्रम्पले आफ्नो दोस्रो कार्यकालको शपथ लिएलगत्तै राष्ट्रपतिको क्षमादान अधिकार प्रयोग गरेर दण्डित भएका हिंस्रक आक्रमणकारीसमेतका सबै दोषीलाई माफी दिए । पाँचजनाको मृत्यु र सयभन्दा बढी प्रहरी घाइते बनाउने हमलामा संलग्न हुनु ट्रम्पको शासनमा कुनै अपराध थिएन । चीनझैँ ब्राजिलले पनि अमेरिकाको दादागिरी स्विकार्न मानेन । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ट्रम्पको धम्कीलाई ‘अस्वीकार्य ब्ल्याकमेल’ भन्दै अस्वीकार गरे र कुनै विदेशीलाई हामीलाई आदेश दिने अधिकार छैन भनेका छन् ।

लुलाले आफ्नो देशको सार्वभौमिकताको रक्षा व्यापार क्षेत्रमा मात्रै नभई अमेरिकी नियन्त्रणमा रहेका प्रविधि कम्पनीलाई नियमन गर्ने सन्दर्भमा पनि गरेका छन् । अमेरिकाका प्रविधि कुलीन वर्गले विश्वभरि आफ्नो धन र प्रभाव प्रयोग गरेर विभिन्न मुलुकलाई आफ्नो नाफा बढाउने रणनीति अपनाउन दबाब दिने गरेका छन् । यसले मिथ्या सूचना र दुराशययुक्त सूचनाका माध्यम बनेर ठुलो क्षति पुर्‍याइरहेको छ । क्यानडा र अस्ट्रेलियामा भएका पछिल्ला निर्वाचनमा झैँ ब्राजिलमा पनि अमेरिकी प्रशासनको दबाबप्रति जनताको असन्तोष बढ्दा लुलालाई समर्थनमा ‘ट्रम्प बम’को लाभ प्राप्त भयो । तर, यही कारण लुलाले आफ्नो अडान लिएका भने थिएनन् । वास्तवमा उनी ब्राजिलले आफ्नो नीति निर्धारण विदेशी हस्तक्षेपविनै गर्ने अधिकारप्रति गहिरो विश्वास राख्छन् । लुलाको नेतृत्वमा ब्राजिलले लोकतन्त्र र कानुनको शासनमा आफ्नो प्रतिबद्धता पुन: पुष्टि गरेको छ, जबकि अमेरिका भने आफ्नै संविधानबाट विमुख हुँदै गएको देखिन्छ । आशा गरौँ, विश्वकै सबभन्दा शक्तिशाली राष्ट्रको धम्कीको सामना गर्दै सानाठुला सबै देशका नेताले पनि यस्तै साहस देखाउनेछन् । ट्रम्पले अमेरिकाभित्र लोकतन्त्र र कानुनी शासनमा अपूरणीय क्षति पुर्‍याएका छन् । उनलाई विश्वभरि मनलाग्दी गर्न दिइनुहुँदैन ।

(स्टिग्लिज अर्थशास्त्रका नोबेल पुरस्कार विजेता एवं कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट