मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण २० मंगलबार १३:१७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हुलाकी सडक निर्माणमा लापरबाही गर्ने श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गराउने निर्णय 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १३:१७:oo

हुलाकी सडक निर्माणमा बेवास्ता गर्दै लापरबाही गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरी अर्को कम्पनी नियुक्त गर्न मोरङमा सर्वपक्षीय निर्णय भएको छ । जिल्ला प्रशासन मोरङमा सोमबार मोरङ ४ नम्बर क्षेत्रका संघीय सांसद तथा पूर्वसामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सिडिओ इन्द्रदेव यादव, जिल्लाका सबै राजनीतिक दल, सडक विभाग, हुलाकी राजमार्ग आयोजना र जनप्रतिनिधिहरूसहितको सर्वपक्षीय बैठकबाट विराटनगरको हाटखोलादेखि कटहरी गाउँपालिकाको नयाँबजारसम्म जम्मा सात किलोमिटर हुलाकी सडक निर्माणमा हदैसम्म लापरबाही गरेको भन्दै ठेक्का रद्द गरी अर्को निर्माण कम्पनीमार्फत काम अगाडि बढाउनुपर्ने निर्णय भएको हो । 

विराटनगरदेखि पूर्व कटहरीको नयाँबजारसम्मको करिब सात किलाेमिटर हुलाकी सडक निर्माण गर्न २४ कात्तिक २०७६ मा श्रेष्ठ कन्स्ट्रक्सन प्रालि हैटौँडाले  निर्माण सम्झौता गरेको थियो । तर, ६ वर्ष बितिसक्दा पनि सडकको प्रगति अझै ३०  प्रतिशत मात्रै भएको छ ।  अधुरो सडक निर्माण नहुँदा स्थानीयले मात्र नभएर हुलाकी मार्गमा आवतजावत गर्ने सबै सवारीसाधन र  यात्रुले हदैसम्मको सास्ती भोग्नु परिरहेको छ। दुईपटक म्याद थप गरिसक्दा पनि श्रेष्ठ कन्स्ट्रक्सनले अझै सडक निर्माण सम्पन्न गरेको छैन । 

पटक–पटक निर्माण सम्पन्न गर्न जिल्ला प्रशासनमार्फत स्थानीय र दलहरूले निर्माण कम्पनीलाई चेतावनीसहित  आग्रह गरे पनि बेवास्ता गरेकोले ठेक्का रद्द गरी अर्को निर्माण कम्पनी नियुक्त गर्नुपर्ने निर्णय भएको मोरङका सिडिओ इन्द्रदेव यादवले बताए । सिडिओ यादवका  अनुसार सर्वपक्षीय बैठकमा भएको निर्णयअनुसार  हुलाकी सडक निर्माणमा हदैसम्म लापरबाही गरेको र पटकपटक चेतावनी दिँदा पनि बेवास्ता गरेकोले सर्वपक्षीय निर्णयअनुसार जिल्ला प्रशासन मोरङले श्रेष्ठ कन्स्ट्रक्सनको ठेक्का रद्द गर्न संघीय सडक विभागलाई पत्र लेखेर जानकारी गराएको छ । सिडिओ यादवले भने, ‘पटकपटक चेतावनी दिइसकेको र दुईपटक म्याद थप गरिसक्दा पनि सात किलाेमिटर सडक अलपत्र छ, यसैले अब म्याद नथप्न र ठेक्का रद्द गरी कानुनअनुसार कारबाही गर्न सडक विभागलाई छलफलको निर्णयअनुसार लेखिपठाइदिएका छौँ ।’   

बैठकमा सहभागी पूर्वमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्ष, दलका नेता र स्थानीयवासी सबैले सडक नबन्दा सर्वसाधारण, बिरामी, विद्यार्थी तथा कृषि उत्पादनको ढुवानीमा समेत बाधा पुगेको भन्दै तत्काल लापरबाही गर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर विकल्प खोज्नुपर्ने सुझाव दिएको थियो । मोरङको विराटनगरदेखि पूर्व कटहरी गापको नयाँबजारसम्मको सात किलाेमिटर हुलाकी सडक  अलपत्र हुँदा रंगेली हुँदै झापाको माईधारसम्म निर्माण भइसकेको हुलाकी सडकको पनि सहज उपयोग हुन पाएको छैन ।   

झापादेखि मोरङको रतुवामाई, रंगेली हुँदै हुलाकी मार्गबाट विराटनगर आउँदा मोरङको कटहरी गापाको कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न जुनसुकै सवारीसाधनलाई निकै  मुस्किल पर्छ । वर्षाको समयमा त झन् हुलाकी राजमार्गको हालतले यात्रा अझै सकसपूर्ण हुन्छ। जसले गर्दा कटहरी करिडोरमा रहेका दजनौँ उद्योगहरूको उत्पादनसमेत प्रभावित हुँदै आएको छ।