
इभी गाडी बिवाइडी सन् २०२५ को फर्च्युन ग्लोबल सूचीको ९१औँ स्थानमा परेको छ । सूचीमा रहेका कुल पाँच सय कम्पनीमध्ये चिनियाँ अटोमेकर बिवाइडी पहिलोपटक शीर्ष सयभित्र परेको हो । सन् २०२४ मा १४३औँमा परेको बिवाइडी सन् २०२२ यता बिवाइडी फर्च्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ । हालको यो उपलब्धि नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको बिवाइडीको विस्तारप्रतिको प्रतिबद्धतालाई झल्काउने कम्पनीको भनाइ छ ।
कम्पनीले गत वर्ष सात खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ)बराबरको वार्षिक आम्दानी गरेको थियो । यो बिवाइडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो । त्यस्तै, कम्पनीले सन् २०२४ मा न्यु इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो । बिवाइडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यु इनर्जी भेहिकल बेचेको जनाएको छ, जुन ४१ प्रतिशतको वार्षिक वृद्धि हो ।
यस वर्ष ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको कम्पनीले एक करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरी महŒवपूर्ण कोसेढुंगा (माइलस्टोन) हासिल गरेको छ । यो वर्षको पहिलो ६ महिनामा बिवाइडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीनबाहिर) बिक्री चार लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ । हालका दिनसम्म बिवाइडीका न्यु इनर्जी भेहिकल विश्वका एक सय १२ देशमा उपलब्ध छन् ।