
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशमा परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न वर्तमान सरकार सक्रिय रहेको आरोप लगाएका छन्। शुक्रबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा पार्टीको नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै परियारले यस्तो बताएका हुन्।
प्रमुख सचेतक परियारले भने, ‘परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न वर्तमान सत्तासाझेदार गठबन्धन लागिपरेको छ। घरमा बुढा बुबा, आमा, लालाबाला छोडेर विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य नेपालीको पीडामा झनै पीडा थप्ने काममा सरकार सक्रिय छ।’
उनले राज्यसत्ताकै आडमा भिजिट भिसा प्रकरण बढेर गएकाले उक्त कदम सच्याउनुपर्ने माग राखे। ‘अहिले सदनमा भइरहेको भिजिट भिसाविरोधी आन्दोलन वार्ताबाट टुंग्याउनुपर्छ। रुपन्देहीको भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले पनि सदनको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ,’ उनले भने।
परियारले देशमा विकास र समृद्धिको बाधक ठुला दल नै भएको भन्दै अब ०८४ को चुनावमा आफूलाई परिवर्तन गर्न सबै नेतृत्वलाई अपिल गरे।
रास्वपा चौदण्डीगढी नगर अधिवेशनमार्फत रमेश विष्टको अध्यक्षतामा १० सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको छ। कमिटीको उपाध्यक्षमा पदमबहादुर तामाङ, सचिवमा टीकाबहादुर खत्री तथा सदस्यहरूमा सोमप्रसाद राई, धनबहादुर कार्की, ऐश्वर्यकुमार सुवेदी, रामप्रसाद पोखरेल, समानन्द चौधरी, सुजाता कारी र पार्वती आचार्य ओझा छन्।