
फोहरलाई मोहर कसिर बनाउने भन्ने सिकाउन पोखरामा आरयु फेष्ट (रिसाइक्लिङ र अपसाइक्लिङ) हुने भएको छ ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा पोखरामा १६ र १७ साउनमा फेष्ट हुन लागेको हो ।
पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत आरयु फेष्ट गर्न लागेको पोखरा महानगरका मेयर धनराज आर्चायले जानकारी दिए ।
फालिएका फोहरलाई मोहोर कसरी बनाउने भन्ने सिकाउने उदेश्यसहित फेष्ट आयोजना गर्न लागिएको आचार्यले बताए । दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेष्टले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्ने आर्चायको दाबी छ ।
रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभव आदानप्रदान समेत फेष्टमा गरिनेछ । फेष्टमार्फत उद्यमशीलता र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने अनुमान छ ।
विशेषगरी रिसाइक्लिङ र अपसाइक्लिङ फोहरमार्फत के के बन्छ भन्ने सिकाउन र यसको सचेतना जगाउने काममा फेष्ट केन्द्रित हुने हरित रोजगारी सिर्जना परियोजनाका लागि पोखरा महानगरका सम्पर्क व्यक्ति इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिए । फेष्टमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रुपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधिमाथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरूको प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरूलगायत विषयमा चर्चा परिचर्चा हुनेछ ।
साथै, परियोजनामा पोखराका पर्यटन व्यवसायीसँगै उद्योगी व्यवसायीलाई कसरी जोड्ने भन्ने विषयमा समेत छलफल हुने तिमिल्सिनाले जानकारी दिए ।
उत्सुक विद्यार्थी, उदेश्यमूलक उत्पादनहरू, दूरदर्शी नीति निर्माताहरू र जिज्ञासु नागरिकका लागि फेष्ट सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेमा महानगर विश्वस्त रहेको प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आर्चायले जानकारी दिए ।
परियोजनाको लागत १०.७७ मिलियन अमेरिकी डलर
पोखरामा १०.७७ मिलियन अमेरिकी डलरको लागतमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना सुरु भएको छ । परियोजनामा कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोग गरेका छन् । दाताले सुरुको पाँच वर्ष परियोजना सञ्चालन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तरण गर्ने मेयर आर्चायले जानकारी दिए । परियोजनाका लागि पोखरामा जिभिजेड सेन्टर र नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण भइरहेको छ ।
पोखरामा दैनिक उत्पादन हुने फोहरमध्ये १० प्रतिशत खपत हुने
हाल पोखरामा दैनिक १८८ टन फोहर संकलन हुने मेयर आर्चायले जानकारी दिए । दैनिक रुपमा संकलन हुने फोहरमध्ये १० प्रतिशत फोहर परियोजनामा खपत हुने जानकारी उनले दिए । परियोजनाले युवालाई रोजगारीसँग जोड्नेसँगै हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्ने मेयर आर्चायको भनाइ छ ।
३३ वडामा एक सयका दरले समूह तयार, दुई वर्षमा तीन हजार रोजगारी सृजना हुने
परियोजनाका लागि महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण दिएको मेयर आर्चायले जानकारी दिए ।
यसका साथै महानगरका ३३ वटा वडामा एक सयजनाका दरले समूहहरू समेत तयार गरिएको छ । समूहलाई रिसाइक्लिङ र अपसाइक्लिङ फोहरमार्फत विभिन्न वस्तु निर्माण गर्न आवश्यक प्रविधि र मेसिनसमेत परियोजनाले उपलब्ध गराउने छ ।
वडा वडामा संकलन हुने फोहरमध्ये कुन वडामा धेरै संकलन हुन्छ सोही अनुसारको उत्पादन गर्ने गरी आवश्यक प्रविधि, मेसिन र कच्चा प्रदार्थ उपलब्ध हुनेछ ।
वडा वडाका समूहहरूले फोहोरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्वपूर्ण हुने विश्वास महानगरको रहेको आर्चायले बताए ।
हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिई आगामी दुई वर्षमा तीन हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको मेयर आर्चायले जानकारी दिए ।