
सरकारले देशभर नै बेरोजगार युवालक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । न्यूनतम रोजगार दिने तथा रोजगारी दिन नसके बेरोजगारी (निर्वाह) भत्ता उपलब्ध गराउने भन्दै देशभर प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको हो ।
सरकारले बेरोजगारलाई अनिवार्य सय दिनको रोजगारी दिन भनेर सूचीकृत गर्दै आइरहेको छ । जसअन्तर्गत सल्यानमा आर्थिक वर्ष ०८०/८१ मा ४३ हजार ६६५ जना बेरोजगारी सूचीमा सूचीकृत भएका थिए । जसमा २८ हजार ५६७ महिला र १५ हजार ९८ पुरुष रहेका छन् । यसमध्ये एक हजार ४३० महिला र ८१३ पुरुष गरी दुई हजार २४३ जनाले मात्र रोजगारी पाएको तथ्यांक छ ।
कुमाख गाउँपालिकामा गत वर्ष एक हजार ७३० बेरोजगार व्यक्ति सूचीकृत भएका थिए । तीमध्ये एक हजार १८४ महिला र ५४६ पुरुष थिए । आर्थिक वर्ष ०८१/८२ मा पनि करिब एक हजार २७६ नयाँ बेरोजगार व्यक्तिह सूचीकृत भएको कुमाख गाउँपालिका रोजगार संयोजक जीवन शर्माले बताए । उनका अनुसार ७७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गरेका छन् भने १०५ जनाले मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न योजनामा काम गरेको उनको भनाइ छ । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २६ लाख ८० हजार बजेट विनियोजन भएको उनको भनाइ छ । अधिकांश योजनाहरू उत्पादनमूलक क्षेत्रमा कार्यान्वयन भएको र यसले नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने उनको दाबी छ ।
यस्तै, गत आवमा कपुरकोट गाउँपालिकामा एक हजार ७१४ महिला र एक हजार ३३५ पुरुष गरी तीन हजार ४९ जना बेरोजगारीमा सूचीकृत भएका थिए । सूचीकृत भएकामध्ये ८४ जनाले मात्र एक सय दिनबराबरको रोजगारी पाएको कपुरकोट गाउँपालिका रोजगार संयोजक विपना बुढा मगरले बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यालयबाट नै सीमित बजेट आउँदा सूचीकृत भएकामध्ये थोरैले मात्र रोजगारी पाएको उनको भनाइ छ ।
गाउँमा रोजगारीका सीमित अवसर र वैदेशिक रोजगारीको आकर्षणले गर्दा धेरैजसो पुरुष विदेश गएका छन् । जसको परिणामस्वरूप घर धान्नेदेखि लिएर गाउँको विकास निर्माणसम्म महिलाको सक्रियता उल्लेखनीय रूपमा बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम तथा अन्य विकास आयोजनाहरूमा सल्यानका ग्रामीण क्षेत्रका महिलाले सक्रिय सहभागिता जनाइरहेका छन् ।