
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमार्फत ट्रम्पले १ अगस्टदेखि लागू हुने गरी भारतबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने बताएका बिबिसी हिन्दीले उल्लेख गरेको छ।
‘भारत हाम्रो मित्र हो, तर उसको उच्च करका कारण हामीले उससँग व्यापार कम गरेका छौँ,’ ट्रम्पले लेखेका छन्। रुसबाट ऊर्जा र हतियार खरिद गरेबापत भारतलाई थप जरिवानासमेत तिराउने ट्रम्पले प्रस्ट पारेका छन्।
‘उनीहरूले सधैँ आफ्नो सैन्य उपकरणहरूको ठुलो हिस्सा रुसबाट खरिद गर्दै आएका छन्, र चीनसँगै रुसको ऊर्जाको सबैभन्दा ठुलो खरिदकर्ता पनि हुन्, यस्तो समयमा जब सबैजना रुसले युक्रेनमा हत्या बन्द गरोस् भन्ने चाहन्छन्,’ ट्रम्पले लेखेका छन्।