
कोशी प्रदेशको उदयपुर जिल्लामा हालसम्म कुल क्षेत्रफलको ५३ प्रतिशत मात्र रोपाइँ भएको छ। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार कुल १३ हजार ११२ हेक्टरमा धान रोपाइँ हुने गरे पनि हालसम्म ५३.३७ प्रतिशत अर्थात् ७ हजार १४१ हेक्टरमा मात्र रोपाइँ भएको छ।
कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिन (२२ हजार २१० हेक्टर)मध्ये १३ हजार ११२ हेक्टरमा बर्खे धान उत्पादन हुँदै आएको छ। उनले भने, ‘धान खेती हुने भित्री मधेशमा पर्ने त्रियुगा नगरपालिका, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिकालगायतका क्षेत्रमा पानी नपरेकाले अधिकांश खेतमा रोपाइँ हुन सकेको छैन।’
यादवका अनुसार विगतमा असार तेस्रो साताभित्र रोपाइँ भइसक्ने खेत अहिले पानी नपरेकाले बाँझै रहेको हो। सामान्य रूपमा हल्का वर्षा भए पनि पानीका मूल रसाउने गरी वर्षा नभएकाले धान रोपाइँमा समस्या भएको उनको भनाइ छ। साउन पहिलो हप्तासम्म ८० प्रतिशत रोपाइँ भइसक्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘समयमै वर्षा नभएकाले धान उत्पादन घट्ने संकेत देखिएको छ।’
गत वर्ष उदयपुरमा १२ हजार ४२१ हेक्टरमा धान रोपाइँ भएको थियो। जसबाट ५१ हजार १५५ मेट्रिकटन धान उत्पादन भएको थियो। महाभारत क्षेत्रमा रोपाइँ सकिए पनि आकाशे पानीबाट मात्र धान रोपाइँ हुने भित्री मधेसका फाँटहरू बाँझै छन्।
त्रियुगा नगरपालिका–१३ का कृषक शिवराज दाहालले खोलामा पनि पानी नभएकाले रोपाइँ हुन नसकेको गुनासो गरे। उनले भने, ‘असारी क्षेत्रका अधिकांश ठाउँमा बरुवा खोलाबाट आउने कुलोको पानीले रोपाइँ हुने गर्थ्यो। तर, यसपालि सममै पानीको मूल रसाउने गरी पानी परेको छैन,’ उनले भने।