
भारत सरकारको अनुदान सहयोगमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पाँच परियोजना निर्माण हुने भएको छ। त्यसको नाम उच्च प्रभाव सामुदायिक विकास परियोजना दिइएको छ। विद्यालय, स्वास्थ्य चौकी तथा अस्पतालसमेत पाँच परियोजना निर्माणसम्बन्धी समझदारी पत्रमा सोमवार हस्ताक्षर भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कुल ३९ करोड रुपैयाँ अनुदान सहयोगमा पाँच परियोजना निर्माण हुनेछन्।
भारतीय राजदूतावासका अनुसार धनुषाको बटेश्वर–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालय भवन, पर्साको पोखरियास्थित श्री महोवनी पद्म माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकास्थित श्री बासुकी माध्यमिक विद्यालय, बाराको प्रसौनी गाउँपालिका–२ मा बेंगा साह माध्यमिक विद्यालय तथा पुस्तकालय र मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवनको निर्माण हुनेछ। सम्बन्धित नगरपालिका र गाउँपालिकासहित नेपाल सरकारका स्थानीय निकायमार्फत पाँच परियोजना निर्माण हुनेछन् ।
भारत सरकारले सन् २००३ यता यी पाँचसहित जम्मा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ। सातै प्रदेशभरि स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्रमा र सार्वजनिक उपयोगी वस्तुको निर्माणमा ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना निर्माणका विभिन्न चरणमा रहेका छन्।