
उदयपुरमा नयाँ नागरिकताको प्रमाणपत्र लिने नयाँ पुस्तालाई ‘नागरिकता’को महत्त्व बुझाउन नागरिक प्रतिबद्धता स्वघोषणा लागू गरिएको छ। आज शुक्रबारदेखि जिल्ला प्रशासन कर्यालय उदयपुरले नयाँ नागरिकता लिनेलाई नागरिकताको दुरुपयोग नहोस् भन्ने उद्देश्यले नागरिक प्रतिबद्धता स्वघोषणा लागू गरेको हो।
प्रमुख जिल्ला अधिकरी प्रेमप्रसाद लुइँटेलले नयाँ आर्थिक वर्ष ०८२/८३ सुरु भएसँगै आज शुक्रबारबाट नयाँ नागरिकता लिनेलाई नागरिकताको महत्त्व बुझाउन नागरिक प्रतिबद्धता स्वघोषणा लागू गरिएको बताए। उनले भने, ‘नागरिकलाई नागरिकताप्रति जिम्मेवार बनाउनको नागरिक प्रतिबद्धता स्वघोषणा लागू गरेका हौँ।’
जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिन आउनेका लागि नागरिक प्रतिबद्धता स्वघोषणा लागू गर्दै एकैपटक सातजनालाई नयाँ नागरिकता प्रदान गरिएको थियो। नागरिक प्रतिबद्धता स्वघोषणामा सात बुँदा राखिएको छ। स्वघोषणाका सातै बुँदा जिल्ला प्रशासन कार्यालयमा ब्यानर बनाएर राखिएको छ।
प्रजिअ लुइँटेलले भने, ‘नागरिकता लिन आउने जोकोहीलाई हामीले जानकारीका लागि ब्यानर बनाएर पढ्ने गरी राखिदिएका छौँ। नागरिकता दिने अधिकारीहरूले पनि सात बुँदाबारे सेवाग्राहीलाई सम्झाउनुहुन्छ।’