
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी अस्ट्रेलियाको ‘ए’ लिगमा आबद्ध भएकी छिन् । वेलिङटन फिनिक्स फुटबल क्लबले बिहीबार दक्षिण एसियाकै कीर्तिमानी स्ट्राइकर सावित्रालाई दुई वर्षको सम्झौता गरेको जानकारी दिएको छ । क्लबले उनीसँग सम्झौता रकम तथा मासिक पारिश्रमिक खुलाएको छ । अन्तर्राष्ट्रिय फुटबल करिअरमा सावित्रा एकपछि अर्को छलाङ मार्न सफल भएकी छिन् ।
उनी भारत, इजरायल र फ्रान्स हुँदै अस्ट्रेलियन क्लबमा पुगेकी छिन् । नेपाली महिला फुटबल इतिहासमा एसियन, युरोप र अस्ट्रेलियाको क्लबमा आबद्ध हुने उनी पहिलो खेलाडी हुन् । नेपाली टोलीकी निवर्तमान कप्तान अञ्जिला तुम्बापो सुब्बा पनि ग्रिसको क्लबमा आबद्ध छिन् । विलिङटन क्लबसँग आबद्ध भएपछि सावित्राले नयाँ ठाउँमा फरक योजनाका साथ प्रतिस्पर्धा गर्ने बताएकी छिन् ।
‘क्लबसँग आगामी नयाँ लिगका लागि सम्झौता भएको छ । अस्ट्रेलियामा खेल्न उत्साहित छु,’ सावित्राले नयाँ पत्रिकासँग भनिन्, ‘फ्रान्सको यात्रा निकै राम्रो भयो । त्यसैले नयाँ ठाउँमा नयाँ योजनासहित सम्झौता गरेको छु ।’ उनी अर्काे महिना अस्ट्रेलिया जानेछिन् । भविष्यको खोजीमा अधिकांश राष्ट्रियस्तरका पुरुष खेलाडी अस्ट्रेलिया पलायन भएका छन् । उनीहरू स्थानीय लिग पनि खेल्छन् । गत महिना मात्र उनले नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाएकी थिइन् । उज्वेकिस्तानमा भएको सन् २०२६ को एसियन कप छनोटका क्रममा उनले कप्तानी पाएकी हुन् ।
क्लब न्युजिल्यान्डको, तर आबद्ध अस्ट्रेलियाको
वेलिङटन न्युजिल्यान्डको क्लब हो । तर, वेलिङटन अस्ट्रेलियाको ‘ए’ लिगमा आबद्ध छ । न्युजिल्यान्डबाट अस्ट्रेलियाको ‘ए’ लिग खेल्ने एक मात्र क्लब वेलिङटन हो । गत सिजन १२ टोली सहभागी लिगमा वेलिङटन नवौँ स्थानमा रहेको थियो । यस क्लबको स्थापना सन् २००७ मा भएको थियो । स्काई रंगशालालाई क्लबले घरेलु मैदानका रूपमा प्रयोग गर्दै आइरहेको छ ।
एपिएफदेखि वेलिङटनसम्मको यात्रा
सावित्राले छोटो समयमै राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्लब लेभलमा आफ्नो दमदार प्रस्तुति दिएकी छिन् । घरेलु फुटबलमा उनी एपिएफसँग आबद्ध छिन् । उनले विदेशी व्यावसायिक फुटबल सुरु भारतबाट गरेकी हुन् । भारतको लिगमा आबद्ध हुँदा उनले सेथु एफसीलाई एक तथा गोकुलम केरेलालाई दुईपटक उपाधि दिलाएकी थिइन् ।
त्यसपछि भारतमा गरेको प्रदर्शनका आधारमा उनलाई इजरायलको क्लबले सम्झौता गर्यो । इजरायलमा उनले एक सिजन बिताइन् । इजरायलपछि फ्रेन्च लिग वान क्लबसँग उनको सम्झौता भयो । दुई सिजन उनले फ्रेन्च क्लबबाट खेलिन् । गत सिजनमा उनी आबद्ध क्लब रेलिगेसनमा परेको थियो ।