मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
कमलराज भट्ट काठमाडाैं
२o८२ श्रावण २ शुक्रबार o८:४८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रविको पक्षमा २५ दिनमा २५ लाख हस्ताक्षर 

अभियानलाई जनस्तरमा पुर्‍याउन ५ साउनदेखि घरदैलो

Read Time : > 2 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार o८:४८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै सञ्चालन गरेको हस्ताक्षर अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले ऐक्यबद्धता जनाएका छन् । रास्वपाले बिहीबार पत्रकार सम्मेलन गरेर रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान सञ्चालन भएको २५ दिनको तथ्यगत जानकारी दिएको हो । 

अभियानका संयोजक दीपक बोहराले हालसम्म २४ लाख ५७ हजार ६१८ जनाले सभापति लामिछानेको पक्षमा हस्ताक्षर गरेको बताए । पार्टी स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा रास्वपाले सभापति लामिछानेले भैरहवा कारागारबाट जारी गरेको अपिल बोकेर ७ असारदेखि हस्ताक्षर अभियान चलाइरहेको छ । संयोजक बोहराका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ लाख ३९ हजार ६८ हस्ताक्षर संकलन भएको छ । त्यसपछि, गण्डकीमा चार लाख ३२ हजार ७२३, लुम्बिनीमा दुई लाख ३६ हजार ५९५, कोशीमा एक लाख ६६ हजार ८६१, सुदूरपश्चिममा ९४ हजार ५३५, कर्णालीमा ४३ हजार ७७५ र मधेशमा २० हजार ५०५ हस्ताक्षर संकलन भएको छ । केन्द्रीय कार्यालयमा ३३ हजार ३७०, काठमाडौंमा र्‍याटको व्यवस्थापनका बुथमा ५९ हजार ८८५, ह्वाट्सएपबाट ६ लाख ५० हजार १७२, इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको छ । 

संयोजक बोहराले देश विदेशमा अभियान कम्तीमा सय दिन चल्ने बताए । हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेको भन्दै उनले ५ साउनदेखि वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्‍याउन घरदैलो गर्ने जानकारी दिए । अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दु (काँकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गर्ने उनको भनाइ छ । त्यस्तै, आगामी कात्तिकमा उपनिर्वाचन हुने रुपन्देही– ३ का ३६ वटै वडामा बुथमार्फत अभियान सञ्चालन गर्न लागेको बोहराले बताए । ‘बर्खा र खेतीपातीको समय भएकाले अभियान ग्रामीण क्षेत्रमा केही कमजस्तो देखिएको छ । तर, बढ्ने अपेक्षा राखेका छौँ,’ उनले भने । 

हस्ताक्षर अभियानमा खर्च ५९ लाख, संकलन ४६ लाख
हस्ताक्षर अभियानका क्रममा ५९ लाख ६७ हजार खर्च भएको र शुभेच्छुकहरूबाट ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको पनि बोहराले जानकारी दिए । अभियानका क्रममा पाँच लाख अपिल र दुई लाख हस्ताक्षर फाराम छापेर रास्वपाका समिति र शुभेच्छुक/शुभचिन्तकमार्फत अभियानका लागि पठाएको उनको भनाइ छ । उनका अनुसार यस क्रममा विभिन्न शीर्षकमा ५९ लाखभन्दा बढी खर्च भएको छ । बिहीबार सार्वजनिक तथ्यांकअनुसार छपाइमा १७ लाख २० हजार, प्रचार–प्रसार तथा फ्लेक्स/बुथ निर्माणमा तीन लाख ८० हजार, अन्य व्यवस्थापनमा सात लाख ४५ हजार, विविधमा ८७ हजार खर्च भएको छ । जसमध्ये भुक्तानी गर्न बाँकी ३० लाख ३५ हजार छ । यो १० लाख अपिल, एक लाख हस्ताक्षर फाराम र अन्य प्रयोजनको खर्च हो । ‘आम्दानीभन्दा खर्च बढी छ । अहिलेसम्म १३ लाख ५४ हजार ४८६ रुपैयाँ घाटा छ । अभियान अझै लामो समय चल्ने भएकाले थप खर्च हुन्छ,’ संयोजक बोहराले भने ।

उम्मेदवार छनोट विधि सार्वजनिक 
रास्वपाले रुपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार हुनका लागि पार्टीमा योगदान गरेको वा समाजमा योगदान गरेको व्यक्ति हुनुपर्ने बताए । छनोट गर्दा लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचन गर्ने जनाएको छ । 

त्यस्तै, लिडरसिप एकेडेमीभित्र राजनीतिक चेत, विचार, सदाचार र नैतिकता, शिक्षा तथा पेसागत अनुभव, नेतृत्वदायी अनुभव, भविष्य दृष्टि (भिजन) पनि हेर्ने जनाइएको छ । पोलिटिकल प्रोक्सिमिटीभित्र पार्टी प्रोक्सिमिटी, सामाजिक डेमोग्राफिक प्रोक्सिमिटी, लोकतान्त्रिक प्रोक्सिमिटी हेरिने उनले बताए । 

समावेशिताभित्र महिला, दलित, आदिवासी/जनजाति, थारू, मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र तथा अपांगतालाई प्राथमिकता दिने, प्रारम्भिक निर्वाचनभित्र सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यहरूको मतदान, निर्वाचन क्षेत्रभित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदान र केन्द्रीय समिति सदस्यहरूको मतदानबाट छनोट गरिने उल्लेख छ । 

छनोट गर्दा उम्मेदवारले लिडरसिप एकेडेमीको नतिजामा २५ प्रतिशत, पोलिटिकल प्रोक्सिमिटी २० प्रतिशत, समावेशिता ५ प्रतिशत र प्रारम्भिक निर्वाचन ५० प्रतिशत नतिजा ल्याउनुपर्नेछ । रास्वपाले उम्मेदवारको योग्यतामा ६ सर्त तय गरेको छ । 

पहिलो– प्रचलित कानुनबमोजिम उम्मेदवार हुन योग्य भएको, दोस्रो– पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिमा सम्पत्ति विवरण बुझाएको, तेस्रो– प्रहरी रिपोर्ट पेस गरेको, चौथो– भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध कारोबार, निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरण, हत्या वा अन्य नैतिक पतन देखिने गम्भीर कसुरमा सजाय नपाएको । अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको भए पनि त्यसको अवधि सकिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्ने सर्त राखेको छ । पाँचौँमा पार्टीका मूल्य–मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध र छैटौँमा अन्य कुनै राजनीतिक दलसँग आबद्ध नरहेको हुनुपर्ने भनिएको छ ।