
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । तीन सय मिटर अग्लो चट्टानी काँपबाट झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा फुङफुङे नामकरण गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय पर्यटकीय गन्तव्यमा फुङफुङे झरनालाई पनि राखेको छ । झरनाको प्रचारप्रसार भएसँगै दैनिक अवलोकन गर्न आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदीनजिकै फुङफुङे देवीको पूजास्थल पनि राखिएको छ ।
झरनालाई सौन्दर्यीकरण गर्न संघीय सरकारबाट एक करोड बजेट विनियोजन भएर ठेक्का लागिसकेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डन्डु लामाले बताए।