मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १ बिहीबार o८:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एनपिएल ट्रेडमार्कका लागि जोरा स्पोर्टस् उच्च अदालत जाने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार o८:o८:oo
  • उद्योग विभागको फैसला स्वीकार्य नभएको जनाउँदै जोरा स्पोर्टस् इन्टरटेनमेन्ट प्रालि न्यायका लागि उच्च अदालत जाने 

उद्योग विभागले नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रेडमार्क नेपाल क्रिकेट संघ (क्यान)ले प्रयोग गर्न पाउने फैसला गरिसकेको छ । यसअघि जोरा स्पोर्टस् इन्टरटेनमेन्ट प्रालिले एनपिएल ट्रेडमार्क आफ्नो स्वामित्वमा रहेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो । तर, विभागले जोरा स्पोर्टस्को दाबीमा प्रमाण नपुगेको भन्दै मुद्दा किनारा लगाएको थियो ।

यस निर्णयपछि एक वर्षदेखिको एनपिएल ट्रेडमार्कसम्बन्धी विवाद समाप्त भएको थियो । तर, उक्त फैसला चित्त नबुझेको भन्दै जोरा स्पोर्टस्का सञ्चालक आमिर अख्तर उच्च अदालत जाने भएका छन् । अख्तरले आफूलाई अन्याय भएको र न्यायका लागि उच्च अदालत जाने बताएका छन् । ‘क्यानलाई दिएको एनपिएलको ट्रेडमार्कको सम्बन्धमा उद्योग विभाग गएको थिएँ, उहाँहरूले लोगो र ट्रेडमार्क क्यानसँगै रहने भन्नुभयो,’ अख्तरले भने, ‘न्यायका लागि उच्च अदालत जान्छु । एनपिएलको लोगो र ट्रेडमार्क हाम्रै हो ।’ 

उनका अनुसार जोरा स्पोर्टस् प्रालिकै नाममा कम्पनी दर्तादेखि बैंक अकाउन्ट छ । ‘कम्पनी दर्ता, पान नम्बर र बैंक अकाउन्ट हेर्नुभयो भने हाम्रै कम्पनीको नाम छ,’ उनले भने, ‘अझ मैले नै ट्रेडमार्कको कर तिर्दै आएको छु । यति हुँदाहुँदै क्यानले कसरी प्रयोग गर्न पाउँछ ?’ ०७१ मा जोराले धनगढीको फाप्ला मैदानमा पहिलो संस्करणको एनपिएल आयोजना गरेको थियो । क्यानले सम्झौताविपरीत काम गरेको उनको दाबी छ । 

भावना लुम्बिनीकी सिइओ नियुक्त
दोस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्सले क्यानकी पूर्वसिइओ भावना घिमिरेलाई सिइओका रूपमा नियुक्त गरेको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यमा महत्वपूर्ण भूमिका निभाएकी छिन् । लुम्बिनीका अध्यक्ष ईश्वर जिसीले अन्तर्राष्ट्रियस्तरमै अनुभव प्राप्त व्यक्तित्वलाई भित्र्याएको बताए । ‘उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनीलाई नयाँ उचाइमा पुर्‍याउनेछ,’ जिसीले भने । 

धनगढी र एसपिएबिच तीन वर्षको सम्झौता
साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको एनपिएलका लागि धनगढीस्थित एसपिए कलेजसँगको साझेदारी गरेको छ । एसपिएले सुदूरपश्चिमसँग थप दुई वर्षको सम्झौता गरेको जनाएको छ । 

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपिए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले सुदूरपश्चिम रोयल्ससँग थप सम्झौता गर्न पाउँदा खुसी लागेको बताए । ‘खेलकुदले युवालाई प्रेरणा दिने ठुलो क्षमता राख्छ । सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ,’ उनले भने । एसपिए कलेजले एसिसी यू–१६ इस्ट जोन कप विजेता टोलीमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही २५ हजार रुपैयाँ प्रदान गरेको उनले बताए । सुशील रावल पहिलो संस्करणमा ट्यालेन्ट हन्टमार्फत छनोटका खेलाडी हुन् । उनले सुदूरपश्चिमबाट पहिलो संस्करणमा आफ्नो प्रतिभा देखाउन अवसर पाए । सुदूरपश्चिमका सिइओ प्रकाश खड्काले टोलीलाई एक फ्रेन्चाइजका रूपमा स्थापित गर्न कोसिस भइरहेको बताए । उनले आगामी वर्षमा साझेदारीलाई निरन्तरता दिने बताए ।