
सल्यानमा नयाँ नागरिकता लिनेसरह नै प्रतिलिपि लिनेहरूको संख्या बढेको पाइएको छ । विगतमा नागरिकताको प्रतिलिपिभन्दा नयाँ नागरिका लिनेको संख्या बढी भए तापनि यस चालू आवमा नयाँ नागरिकता र प्रतिलिपि लिनेको संख्या बराबरजस्तै रहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । चालू आर्थिक वर्षमा सात हजार ८०८ जनाले नयाँ नागरिकता प्राप्त गरेका छन् भने ६ हजार ८५४ जनाले प्रतिलिपि लिएका छन् ।
विगतमा नागरिकता च्यातिएमा वा हराएमा मात्र प्रतिलिपि लिने गरेको भए तापनि यस वर्ष भने राष्ट्रिय परिचयपत्र बनाउन नागरिकता अनिवार्य चाहिने र नागरिकता धुलिएको वा पुरानो भएको नागरिकताले काम नगर्ने भएपछि प्रतिलिपि लिनेको संख्यामा वृद्धि आएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए । उनले भने, ‘अहिले नेपाल सरकारले नै राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउन तथा बैंकहरूले समेत राष्ट्रिय परिचयपत्र माग्न थालेपछि प्रतिलिपि लिनेको संख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ ।’
एक व्यक्तिले जीवनमा एकपटक प्राप्त गर्ने नागरिकताजस्तो कुरा हिफाजत गरेर राख्नुपर्ने उनको भनाइ छ । प्रतिलिपि लिँदा कुनै कानुनी झन्झट व्यहोर्नु नपर्ने, जरिवाना तिर्नु नपर्ने, सजिलै पाइने भए तापनि त्यसको सुरक्षामा नागरिक आफैँ सचेत बन्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाली नागरिक हो भनी राज्यले दिएको प्रमाणपत्र नै नागरिकता हो । राज्यले आफ्ना नागरिक भएको पहिचान गर्ने र हरेक क्षेत्रमा अनिवार्य प्रयोग हुने नागरिकता प्राप्त गर्न र पुनः प्रतिलिपि लिनसमेत समस्या छैन ।’
यस्तै चालू आवमा पाँच हजार ८३ को राहदानी सिफारिस गर्दा चार हजार ३६९ जनालाई वितरण गरिएको छ भने १४ हजार ४६७ जनाको राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्दा तीन हजार २१ जनालाई मात्र परिचयपत्र वितरण गरिएको छ ।