मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८२ असार ३१ मंगलबार १o:११:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तातोपानी तीर्थयात्रीका लागि वैकल्पिक बाटो

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १o:११:oo

बाढीले रसुवागढी नाका बन्द भएको केही दिनपछि कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई चीन सरकारले जाङ्मुपोर्ट (खासा) सडक खुला गरेको छ । नेपाल–चीन सरकार तीर्थयात्रीका लागि वैकल्पिक बाटोको रूपमा तातोपानी–खासा नाकालाई प्रयोग गर्न सहमत भएका हुन् । तिब्बतको कैलाश मानसरोवर जाने र पुगेर फर्कने तीर्थयात्रीले अहिले तातोपानी नाका प्रयोग गरिरहेका छन् । चीनपट्टि खासाको पुनर्निर्माण र नेपालपट्टि कोदारी सडकको बिग्रँदो जीर्ण समस्या झेलेरै तीर्थयात्रु तातोपानीबाट आवतजावत गरिरहेका छन् । 

अध्यागमन कार्यालय कोदारीका वरिष्ठ अध्यागमन सहायक रमेश पाेखरेलले दिएको जानकारीअनुसार दैनिक पाँच सय तीर्थयात्रु र पर्यटकले अध्यागमन कार्यालय कोदारीबाट अराइभल र डिपार्चरको अनुमति लिन्छन् । ‘अध्यागमन कार्यालय कोदारी साँघुरो छ । हामीले दुईवटा डेस्कबाट कार्यसम्पादन गरिरहेका छौँ,’ पाेखरेलले भने । पाँच सयसम्म पर्यटक आउँदा काम गर्न सहजै भए पनि धेरै आउँदा समस्या पर्ने उनले बताए । 

भारत, भुटान र अन्य मुलुकका पर्यटकलाई काठमाडौंबाट तातोपानी हुँदै कैलाश मानसरोवर पुर्‍याएर पुनः काठमाडौं ल्याउन एक दर्जनजति कम्पनीले प्याकेजमा काम गरिरहेका छन् । रिचा ट्रेक, सम्राट् होलिडे, काठमाडौं होलिडे, ट्रेकर सोसाइटी, नमस्ते होलिडे, ग्लोरी ट्रेकिङ, एबिसी ट्रेक र कर्णाली ट्रेकलगायतले प्याकेजको व्यवस्थापन गर्छन् । काठमाडौंबाट तातोपानी आएका तीर्थयात्रीले कोदारीस्थित कैलाश मानसरोवर होटेलमा खाने–बस्ने गर्छन् ।

तातोपानी नाकामा पनि कोदारी सडकको अवस्था नाजुक रहेको बताउँदै कैलाश मानसरोवर जाने तीर्थयात्रीको व्यवस्थापन गर्दै आएका भोटेकोशी गाउँपालिका– १ का वडाध्यक्षसमेत रहेका राजु लामाले सरकारले यस विषयमा ध्यान दिनुपर्ने बताए । तीर्थयात्रीलाई नेपालपट्टि अरनिको राजमार्गमा प्रहरीले अनावश्यक चेकजाँच गरेकोप्रति पर्यटक असन्तुष्ट रहेको उनले बताए ।

रसुवाबाट केरुङ हुँदै जाने मुख्यतः भारतीय पर्यटक काठमाडौं आएपछि तातोपानी भएर जान पाउँदा खुसी देखिएका छन् । किनकि, तातोपानी नाका राजधानीबाट नजिक पर्छ । यद्यपि, सडकको दूरावस्था र पट्यारलाग्दो वर्षाले उनीहरू दुःखी पनि छन् । काठमाडौंबाट बिहानै सवार तीर्थयात्रीलाई स्वशासित क्षेत्र तिब्बतको न्यालम लगेर राख्ने गरिएको छ । नेपाल–चीन दुवै देशको सीमा अध्यागमनमा तीर्थयात्रीलाई सहज प्रवेशको व्यवस्थापन मिलाइएको पौडेलले बताए । बाढीपछि रसुवा नाकामा पुनर्निर्माण तीव्र भएकाले केही महिनाका लागि मात्रै तातोपानीलाई वैकल्पिक मार्ग बनाइएको हो ।