मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format o८:१४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुलो बाल्न दाउरा बिक्री

अरूको चुलोमा आगो बाल्न पुग्ने दाउरा बेचेर गुजारा गर्नेहरूको कथा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१४:oo

त्रियुगा नगरपालिका– १३, बहेड्वाका ४९ वर्षीय मानबहादुर राई र उनकी श्रीमती सरनमाया आजभोलि टाउकोमा नाम्लो लगाएर एक भारी दाउरा बेच्न एकाबिहानै गाईघाट बजार निस्कने गरेका छन् । बाटोमा कसैले बोलायो भने पनि धेरै नबोली हिँड्छन् किनभने गाईघाट बजारमा दाउरा बेचेर दिउँसो घर आई साँझ पुन: दाउरा संकलन गर्न जंगल पुग्नुपर्ने उनीहरूको दिनचर्या छ । 

मदन भण्डारी लोकमार्गको गाईघाट–बेल्टार खण्डमा पर्ने दनुबारीमा पैदल भेटिएका मनबहादुरले एक भारी दाउरा तीन सय रुपैयाँमा बेच्ने गरेको सुनाए । ‘एक भारी दाउराको तीन सय पर्छ, किन्ने भए किन्नुस्, नत्र हामीलाई बाटोमा नरोक्नुस्’ थाकेको स्वरमा मानबहादुरले भने, ‘गाईघाट बजारमा दाउरा बेचेर फर्कन हाम्लाई ढिला हुन्छ ।’ गाईघाट नपुग्ने बाटोमै कसैले खरिद गर्न चाहे घरसम्मै लगिदिने गरेको उनले सुनाए । मनबहादुर बोल्दै गर्दा सरनमायाले भनिन्, ‘चिरुवा दाउरा छैन । चिरुवा भएको भए एक भारीको पाँच सय पर्छ । गोलो दाउरा तीन सयमै दिन्छौँ ।’

राई दम्पतीको घर बहेड्वाबाट गाईघाट बजार डेढ घण्टाको दूरीमा छ । आजभोलि उनीहरूले एक भारी दाउरा बोकेर बजार आउजाउ गर्ने गरेका छन् । आफ्नो घरको चुलो बाल्न जंगलबाट दाउरा संकलन गर्ने र बेच्ने गरेको उनले दु:खेसो सुनाए । ‘ऐलानी जग्गामा थालकले छाएको घर छ । अरू खेतबारी केही छैन,’ उनले भने, ‘परिवार पाल्न दाउरा नै बेच्नुपर्छ ।’ आम्दानीको अन्य स्रोत केही नभएकाले जंगलबाट दाउरा संकलन गरेर बेच्दै आएको उनले बताए ।

जंगलमा दाउरा टिप्नका लागि सधैँ खुला हुँदैन । बहेड्वा सामुदायिक वन उपभोक्ता समूह, त्रियुगा नगरपालिका– १३ का अध्यक्ष राजकुमार चौधरीले हप्ताको दुई दिन शुक्रबार र शनिबार वनमा दाउरा संकलनका लागि खुला गर्ने गरेको बताए । ‘विशेष गरेर स्थानीय उपभोक्तालाई मात्र दाउरा संकलनको इजाजत दिन्छौँ । उपभोक्ताले संकलन गरेको दाउरा बजार लगेर पनि बेच्ने पनि गरेका छन् । दाउरा नबेचीकन खानै नपुग्ने उपभोक्ता छन् । त्यसैले अनुमति दिनुपर्ने बाध्यता छ,’ अध्यक्ष चौधरीले भने ।

दाउरा संकलन गर्न नपाएको दिनमा सरनमायाले घाँस छिप्ने र बेच्ने गरेकी छिन् । ‘सामुदायिक वनमा दाउरा खुलेको छ । त्यसैले अहिले धेरै दाउरा संकलन गरेर बेच्न दौडिएका छौँ,’ सरनमायाले भनिन्, ‘संकलन बन्द भएको वेला ल्याउन पाइँदैन । त्यतिवेला ल्याएको भेट्यो भने सामुदायिक वनले पैसा तिराउँछ । कतिपयले दाउरा होटेलमा बेच्छन् । तर, राई दम्पती भने यसरी भारी डुलाएर र बजार लगेर बेच्दै आएका छन् ।

दाउरा बेचेरै ६ जनाको परिवार पाल्दै सुखीदया चौधरी
बहेड्वाकै ३६ वर्षीया सुखीदया चौधरीको ६ जनाको परिवार छ । सासू–ससुरा, श्रीमान्–श्रीमती र छोरा–छोरीको खर्च दाउरा बेचेर आएको पैसाले नै धान्दै आएको उनले बताइन् । दाउरा बेचेरै उनले साइकल किनेकी छिन् । जंगलमा संकलन गरेको दाउरा त्यहीँ साइकलमा बाँधेर बिक्रीका लागि बजारसम्म लैजाने गरेकी छिन् । ‘साइकलमा बोकेर ल्याएको एक भारी दाउराको पाँच सय पर्छ,’ उनले भनिन् ।

बहेड्वालगायतका गाउँबाट दैनिक २० देखि २५ भारी दाउरा गाईघाट बजारमा बिक्री हुने गरेको उनले सुनाइन् । ‘अहिले दाउरा संकलन खुलेको छ । खुलेका वेला दाउरा संकलन गरेर घरमा जम्मा गर्छाैँ । सिजनमा सस्तोमै बेच्छौँ, अरू वेला महँगो पर्छ,’ सुखीदयाले भनिन् । १८ धुर ऐलानी जग्गामा बस्दै आएको उनको परिवार दाउरा बिक्रीबाट मात्र खर्च धान्न नपुगेर मजदुरीसमेत गर्दै आएको उनले सुनाइन् ।