मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:३८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिपछि पनि बढ्न सकेन सेयर बजार

न्यून ब्याजदरले बजार बढाउने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:३८:oo

आइतबार २९ अंकले बढे पनि सोमबार ३५.०९ घट्यो

राष्ट्र बैंकले पुँजी बजारलक्षित लचिलो नियमसहित मौद्रिक नीति ल्याए पनि सेयर बजारमा भने तीव्र उचारचढाव देखिएको छ । आगामी आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीतिमार्फत गभर्नर विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जासीमा १५ करोड रुपैयाँबाट बढाई २५ करोड रुपैयाँ पुर्‍याएका छन् । सेयर धितो कर्जाको सीमा बढाएपछि त्यसको मनोवैज्ञानिक असर लगानीकर्तामा पर्ने र नेप्से परिसूचक बढ्ने अपेक्षा गरिएको थियो । मौद्रिक नीतिपछि बजार खुलेको पहिलो दिन आइतबार २९ अंकले बढेर परिसूचक २७६०.८ विन्दुमा पुगेको पनि थियो । तर, दोस्रो दिन सोमबार परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा पुगेको छ । 

राष्ट्र बैंकले खुकुलो बनाएको यो नियामकीय व्यवस्थालाई कार्यान्वयनमा आउनका लागि बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्नुपर्ने भएकाले लगानीकर्ता अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा नियामकीय व्यवस्था खुकुलो बनाए पनि परिपत्रमा कर्जाको जोखिमभार बढाएर कसिलो बनाउने गरेको थियो । त्यसबाहेक नियमाकीय व्यवस्था खुकुलो बनिसकेपछि बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा प्रवाहले पनि सेयर बजार वृद्धि हुन सक्ने आकलन गरिएको छ ।

सोमबार कारोबारमा आएका अधिकांश परिसूचक घटेका छन् । जलविद्युत् समूहको परिसूचकमा भने वृद्धि भएको छ । जलविद्युत् समूहको परिसूचक ०.१५ प्रतिशतले घटेको छ । बैंकिङ समूहको परिसूचक २.४६ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ । फाइनान्स समूहको परिसूचक १.१३ प्रतिशतले घटेको छ । होटेल तथा पर्यटन समूहको परिसूचक ०.२५ प्रतिशतले घटेको छ । लगानी समूहको परिसूचक १.२५ प्रतिशतले घटेको छ । जीवन बिमा १.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७८ प्रतिशत, माइक्रोफाइनान्स १.२३ प्रतिशत, सामूहिक लगानी कोष ०.१७ प्रतिशत, निर्जीवन बिमा १.०५ प्रतिशत, व्यापार समूह ०.६४ प्रतिशत र अन्य समूह १.२४ प्रतिशतले घटेको छ । सेयर बजारमा सोमबार आठ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ । दुई करोड ११ लाख दुई हजार पाँच सय ४० कित्ताको सेयर किनबेच भएको छ । 

न्यून ब्याजदरले बजार बढाउने अनुमान
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर करिडोरका दरहरूलाई घटाएको थियो । माथिल्लो (नीतिगत दर) र तल्लो सीमा (निक्षेप संकलन दर)को ब्याजदरलाई घटाएको हो । यसबाट मुद्दती निक्षेपको ब्याजदर घटाउन मद्दत पुग्ने देखिन्छ । सामान्यतया ब्याजदर सस्तो भएका वेलामा निक्षेपतर्फको आकर्षण घट्ने र सेयर बजारमा लगानी बढ्ने प्रवृत्ति हुन्छ । बैंक तथा वित्तीय संस्थाले लागू गर्ने नयाँ निक्षेपको ब्याजदर घटेर आएपछि सेयर बजारमा लगानी बढ्ने आकलन विज्ञहरूको छ ।