मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025
बरामद गरिएको गाँजाको हो । सेतो बोराको गाँजा अनि गाँजा छोपिएको तरकारी ।
२o८२ असार ३० सोमबार २१:oo:oo
Read Time : < 1 मिनेट
समाचार

उदयपुरमा तरकारीले छोपेर ढुवानी गरिएको ४३६ किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार २१:oo:oo

कटारी नगरपालिकामा तरकारीले छोपेर बोलेरो गाडीमार्फत ढुवानी गर्दै गरेको अवस्थामा गाँजा बरामद भएको छ । कटारी नगरपालिका–२, खोक्साबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीले चेकजाँचको क्रममा सोमबार चार सय ३६ किलोग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रमुख इन्स्पेक्टर मेघराज राउतले सशस्त्र प्रहरीको चेकजाँचको क्रममा को१ज १२७५ नम्बरको बोलेरो गाडीबाट उक्त गाँजा बरामद गरी इलाका प्रहरी कार्यालय कटारीलाई जिम्मा लगाइएको जानकारी दिए। उनले भने, ‘बोलेरो गाडीको तल सेतो बोरोमा गाँजा राखेर माथिबाट मुला, बन्दालगायतका तरकारीका बोराले छोपेर सिराहातर्फ ढुवानी गरिएको भेटिएको छ।’

राउतले बोलेरोचालक २९ वर्षे तेज राईलाई पक्राउ गरेको जानकारी दिए। सशस्त्र प्रहरीले यसअघि पनि कटारीआसपासका क्षेत्रमा अवैध सामान तथा लागुऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईंले सशस्त्र प्रहरीले जिम्मा लगाएको गाँजाको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए। उनले भने, ‘गाँजा कहाँबाट आएको हो? कसको हो? चालक तेज राईको ठेगाना धनकुटाको सहिदभूमि गाउँपालिका भनिएको छ, आधिकारिक हुन सकेको छैन। अहिले अनुसन्धान जारी छ।’