
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ । प्रशासन कार्यालय कञ्चनपुरले सोमबार जिल्लाका नौवटै पालिकालाई पत्राचार गर्दै आ–आफ्नो तहमा रहेका छाउगोठ भत्काउन अनुरोध गरेको हो।
मिन्स भएर छाउ बार्न छाउगोठमा सुतेकी कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको विशालु सर्पले टोकेर मृत्यु भएपछि प्रशासनले महिला सुरक्षाका लागि पालिकालाई अभियान सञ्चालन गर्न पत्राचार गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कुरीति अन्त्यका लागि कृष्णपुर नगरसहित दोधाराचाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी, लालझाडी गाउँपालिकालाई पत्राचार गरेको बताए। ‘वषौँदेखि समाजमा व्यप्त कुरीतिले मानिसको अकालमै ज्यान जान थाल्यो,’ प्रजिअ ढकालले भने, ‘वषौँअघि सरकारले गरेको कुरीति अन्त्य, समाजबाट उन्मूलनका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ।’ प्रजिअ ढकालले आ–आफ्नो पालिकामा रहेका छाउगोठ भत्काउनुका साथै नागरिकको मानसिकतामा सकारात्मक सचेतनाका कार्यक्रम सञ्चालन गर्नसमेत जोड दिएका छन्।
प्रजिअ ढकाल जिल्लास्थित सुरक्षा अधिकारी, कृष्णपुर नगरका मेयर हेमराज ओझासहितका जनप्रतिनिधिले सोमबार स्व. कमला दमाईंको परिवारसँग भेटघाट गरेका छन्। घटनास्थलको अनुगमन गर्दै प्रजिअ ढकालले अब उपरान्त कुनै पनि महिलाले कमलाको जस्तै ज्यान गुमाउने वातावरण अन्त्य गरिने उद्घोष गरेका छन्।
गुजारा चलाउन श्रीमानसँगै भारतको केरलामा रहेकी निगालीकी कमला गत वैशाखमा तीन सन्तान पढाउन स्वदेश आएकी थिइन्। श्रीमान् पुरन दमाईंसँगै रहेकी कमला दुवैजनाले पक्की घर बनाए पनि कमला छाउ बार्नका लागि कच्ची छाउगोडमा सुतेपछि विशालु सर्प काल बनेर आएको थियो। कमलाको शव अहिले पनि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। श्रीमान् पुरनसहित घरपरिवार आफन्त भारतबाट आएपछि मात्रै अन्त्येष्टि गरिने जनाएको छ।