
संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै १५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको छ।
संयुक्त राष्ट्रसंघको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसंघको दशकका रूपमा घोषणा गरेको अल जजिराले जनाएको छ।
‘यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका, तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन्, यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्,’ महासभाका अध्यक्ष फिलेमोन याङले भने।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएकोमा जोड दिए। उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्याएको उल्लेख गरे।
अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट हावाबाट हुने कणहरू मुख्यतः श्वासप्रश्वास र हृदय रोगका कारण प्रत्येक वर्ष लगभग ७० लाख समयपूर्वको मृत्युसँग जोडिएको बताए। यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइमा योगदान पुर्याउन सक्छ।
संयुक्त राष्ट्रसंघका लागि डब्लुएमओकी प्रतिनिधि लोरा प्याटरसनले पनि यस मुद्दाको परिमाणलाई चित्रण गर्दै वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने बताइन्। उनका अनुसार यो गिजाको पिरामिडको लगभग तीन सय वटाको बराबर द्रव्यमान हो। यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ, तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रहरूलाई असर गर्दछ।
यसैबिच, संयुक्त राष्ट्रसंघकी उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दस्तीले आर्थिक क्षति आश्चर्यजनक रहेको बताइन्। मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत एक खर्ब ५० अर्ब अमेरिकी डलर वा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को २.५ प्रतिशत हुने अनुमान गरिएको अल जजिराले जनाएको छ।
दस्तीले अरब क्षेत्रको विशेष गरी कठोर वसन्त मौसमलाई औँल्याइन्। इराकमा आँधीहरूले अस्पताल तथा कुवेत र इरानमा यस्तै घटनाहरू विद्यालय र कार्यस्थलहरू बन्द गर्न बाध्य तुल्यायो। सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पत्ता लगाइएको छ।
अल जजिराका अनुसार नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ। यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो।
डब्लुएमओ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बढ्दो स्वास्थ्य संकटको चेतावनी दिँदै भनेका छन्, ‘सन् २०१८ र सन् २०२२ को बिचमा विश्व जनसंख्याको आधानजिक अर्थात् करिब तीन अर्ब ८० करोड अर्ब मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएका थिए। यो सन् २००३ र सन् २००७ को बिचमा दुई अर्ब ९० करोड मानिसबाट बढेको छ।’