मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
ज्यां द्रेज
२o८२ असार २९ आइतबार १o:५७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अवसानको सन्निकट मानवता

नैतिकता अक्सिजनजस्तै हो, तपाईं जति–जति माथि उक्लिनुहुन्छ, वायुमण्डलमा त्यसको मात्रा उति नै घटदै जान्छ

Read Time : > 2 मिनेट
ज्यां द्रेज
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १o:५७:oo

हालै पिउ रिसर्च सेन्टरले २४ देशमा गरेको एक सर्वेक्षणले अधिकांश देशमा इजरायल अत्यन्तै अलोकप्रिय छ भन्ने देखाउँछ । यसको प्रमुख अपवाद भनेको भारत हो, जहाँ जम्मा २९ प्रतिशत उत्तरदाताले इजरायलप्रति ‘अप्रत्याशित’ धारणा राखेका छन । थोरै बढी अर्थात ३४ प्रतिशतले सकारात्मक धारणा देखाएका छन भने बाँकीले कुनै धारणा व्यक्त गरेका छैनन । सायद यो नमुना पूर्वाग्रही पनि हुन सक्छ, जहाँ विशेषाधिकार प्राप्त वर्गको बढी प्रतिनिधित्व गरिएको हुन सक्छ र कमजोर वर्ग इजरायलसम्बन्धी मुद्दाबारे पर्याप्त जानकारीमा नहुन सक्छ, तसर्थ जनमत इजरायलविरुद्ध कति आलोचनात्मक छ भन्ने निश्चित छैन । यसका बाबजुद गाजामा भइरहेका भीषण युद्ध अपराधप्रति भारतीय जनमतको प्रतिक्रिया केही निष्क्रिय वा उदासीन देखिन्छ भन्ने स्पष्ट छ ।

भारतको इजरायलप्रति समर्थन : झन्डै दुई वर्षदेखि गाजाका जनतामाथि जबर्जस्ती विस्थापन, बम आक्रमण, भोकमरी र उपचारको अभाव थोपरिएको छ । ५० हजारभन्दा बढी सर्वसाधारण मारिएका छन, अनगिन्ती बालबालिकामाथि क्रूर हिंसा गरिएको छ, र सयौँ पत्रकार तथा स्वास्थ्यकर्मी मारिएका छन । विद्यालय, अस्पताल, मस्जिद र विश्वविद्यालय ध्वस्त पारिएका छन । आज गाजाको सम्पूर्ण जनसंख्या भोकमरीको डिलमा पुगेको छ । यी सबै हिंसात्मक कार्य पूर्वघोषित, योजनाबद्ध र प्रत्यक्ष प्रसारणसहित भइरहेका छन ।

यस्तो पृष्ठभूमिमा भारतमा पनि इजरायल अलोकप्रिय हुने अपेक्षा गर्न सकिन्थ्यो, तर पिउ सर्वेक्षणअनुसार स्थिति फरक छ । यसको एक प्रमुख कारण भारतले यो युद्धमा इजरायलको स्पष्ट समर्थन गर्नु हो, जुन सैन्य प्रविधिमा निर्भरता र रक्षा क्षेत्रमा गहिरो व्यावसायिक सम्बन्धसँग जोडिएको छ । भारत सरकारले संयुक्त रक्षा परियोजनालाई अनुदान दिने, प्यालेस्टिनी श्रमिकको स्थानमा भारतीय कामदार पठाउने, राष्ट्रसंघमा तटस्थ रहने र इजरायलविरोधी जनप्रदर्शनलाई दबाउनेजस्ता कदम चालेको छ । सरकार र निजी क्षेत्र इजरायलको पक्षमा उभिएकाले मूलधारका सञ्चारमाध्यम पनि मौन छन र जनतालाई अन्धकारमा राखिएको छ । सामाजिक सञ्जाल वैकल्पिक माध्यम बन्न सक्ने सम्भावना थियो, तर गाजा मामिलामा च्याउसरी उम्रिएका ध्यानाकर्षण खोज्ने सतही सामग्रीबिच विलुप्त भएको छ । केही सामाजिक सञ्जालका एल्गोरिदम विशेषत: इलन मस्क नेतृत्वमा रहेको एक्स (पहिलेको टिवटर) को इजरायलविरोधी वा प्यालेस्टियन समर्थक सामग्रीमाथि कैँची चलाएको सम्भावना पनि प्रबल देखिन्छ । उदाहरणका लागि, गाजाको भयावह यथार्थ उजागर गर्ने कैयौँ एक्स एकाउन्ट बन्द गरिएका छन ।

शक्तिमा पुगेका यी अर्बपतिले सार्वजनिक नीति र संस्थालाई आफ्नै हित वा अझ भनौँ आफ्नै वर्ग सुपर–रिच (धनाढय) का हितमा डोर्‍याएका छन । यसमा सबैभन्दा पहिले गरिएका काममा धन संकलनमा अवरोध आउने सबै संरचनालाई कमजोर पार्ने वा पूर्ण रूपमा ध्वस्त पार्ने प्रयास थियो । अर्थात, नियामक निकाय, वातावरणीय सुरक्षा उपाय, सकारात्मक विभेद, पुनर्वितरणीय कर प्रणाली, सामाजिक सुरक्षा, राजनीतिक प्रतिपक्ष सबैलाई कमजोर वा निस्तेनाभूत पार्ने प्रयास थियो । यसबाहेक उनीहरूले थप ‘सिर्जनात्मक’ योजना अघि सारेका छन, जसमा ग्रिनल्यान्डलाई कब्जा गर्ने, युक्रेनका खनिज स्रोत लुटने र गाजापट्टीलाई एक भव्य लक्जरी रिसोर्टमा रूपान्तरण गर्ने रहेको छ ।

करुणा र ऐक्यबद्धताको मूल्य गाजामा पाइन्छ, जबकि शक्तिको चरम सीमामा यसको विपरीत मूल्य हाबी हुनु संयोग होइन । सत्ताको दौड सहानुभूति वा नैतिकताको मागसँग खासै अनुकूल हुँदैन । तसर्थ, सत्ता र शक्तिको केन्द्रमा लोभ एवं स्वार्थको जयजयकार हुनु अचम्मको कुरा होइन । वास्तवमा नैतिकता अक्सिजनजस्तै हो, तपाईं जति–जति माथि उक्लिनुहुन्छ, वायुमण्डलमा त्यसको मात्रा उति नै घटदै जान्छ । यही नैतिकताविहीन वातावरणले अमेरिकासहित अन्य मुलुकका सरकारलाई गाजामा भइरहेका नरसंहारलाई समर्थन गर्न सम्भव बनाएको हो ।

इजरायली सरकारको क्रूरताले नयाँ–नयाँ स्तर पार गर्दै जाँदा गाजाका लागि महसुस गर्ने, बोल्ने वा केही गर्ने हाम्रो आफ्नै क्षमता बिस्तारै निष्क्रिय पारिँदै छ । गाजामा रहेका अधिकांश स्थानीय पत्रकार र सत्य बोल्ने साक्षी मारिएका छन । बाँकी भय, भोक वा थकानले गलिसकेका छन । अर्थात, त्यहाँ के भइरहेको छ भनेर रिपोर्ट गर्न सक्ने अवस्थामा छैनन । त्यसैमा सञ्चारका साधन अत्यन्त न्यून छन र गाजाको पीडाले अब ‘समाचार बन्ने’ योग्यता पनि गुमाउँदै छ । अन्धकार र मौनता चर्किंदै जाँदा गाजा नर्कमा झर्दै छ । यदि हामी अझै पनि चेत्दैनौँ भने त्यहाँ मानवताको अन्त्य हुनेछ ।

(द्रेज भारतीय विकास अर्थशास्त्री हुन) 
द हिन्दुबाट