
मलेसियामा हालै सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि जिताउन भूमिका निभाएका कपिलवस्तुका क्रिकेटर रौनक श्रीवास्तवलाई भव्य स्वागत गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा रौनकलाई सोमबार नगर परिक्रमा गराई विशेष सम्मान गरिएको छ ।
नगर परिक्रमापछि तौलिहवाको जमुवार पुलदेखि सुरु भई प्रशासन चोक, आन्दोलन चोक, गौढी चोक, भिक्षु चोक, महिता हुँदै तिलौराकोट होटेलमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रमका क्रममा रौनकलाई विभिन्न स्थानमा स्थानीय युवाहरू, खेलप्रेमी नागरिक र संघसंस्थाले फूलमालासहित स्वागत गरेका थिए । उनलाई जिल्लाको चन्द्रौटा कृष्णनगरलगायतका स्थानमा भव्य स्वागत गरिएको थियो ।
सर्वाेत्कृष्ट खेलाडीको रूपमा उभिएका रौनक
एसिसी यू–१६ इस्ट जोन कपको विजेता टोली नेपालका ब्याटर रौनक श्रीवास्तव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । कृष्णनगर नगरपालिका–१ मडहाका ब्याटर रौनकले मलेसियामा सम्पन्न एसियन क्रिकेट काउन्सिल (एसिसी) १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका थिए । सोसँगै उनको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्चा चुलिएको छ ।
तौलिहवामा आयोजित सम्मान समारोहमा प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट, नेपाल क्रिकेट संघ क्यानका पूर्वसचिव प्रशान्तविक्रम मल्ल, क्यान लुम्बिनी प्रदेश सचिव कैलाश रोक्कामगर, सदस्यहरू विनयसिंह ज्ञवाली, माया ज्ञवाली, प्रदेश सल्लाहकार दिनेश हमाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले रौनकको प्रदर्शनले कपिलवस्तु मात्र नभई सिंगो मुलुकलाई गौरवान्वित बनाएको उल्लेख गर्दै, यस्ता प्रतिभालाई प्रोत्साहन गर्न संघ सधैँ तयार रहेको बताए।
थप जिम्मेवारी बढेको अनुभूति गरेको छ : रौनक
सम्मानप्रति आभार व्यक्त गर्दै खेलाडी रौनकले यति धेरै माया, स्वागत र सम्मान पाउँदा खुसी एवं जिम्मेवारी बढेको बताएका छन् । यसले अझ राम्रो खेल प्रदर्शन गर्न हौसला मिलेको र जिम्मेवारी पनि बढेको उनले बताए ।