
तातोपानी नाकातर्फ आएका मालवाहक कन्टेनर न्यालमपारि नै रोकिएका छन्। सोमबार परेको भारी वर्षाले न्यालम क्षेत्रको सडक बगाउँदा ती कन्टेनर बिचबाटोमै अलपत्र परेका हुन्।
बाढीले सिगात्से–न्यालम–खासा सडकखण्डको न्यालमपारि झन्डै दुई सय मिटर सडक बगाएको न्यालमका स्थानीय दावाले बताए। तिब्बत क्षेत्रमा आइतबार र सोमबार मध्यम वर्षा भएको थियो। ‘वर्षा मध्यम भएको हो। तर, पहिरोसहित आएको बाढीले सडक भत्कायो,’ आडो ट्रान्सपोर्टमा कार्यरत प्रतिनिधिसमेत रहेका उनले भने।
चीन स्वशासित तिब्बतको न्यालम काउन्टी सरकारले दुई दिनभित्र सडक निर्माण गरेर मालवाहक कन्टेनर खासातर्फ पास गराउन सडकलाई निर्देशन दिएको उनले बताए। बाढीले मितेरीपुल बगाएर क्षतिग्रस्त रसुवा नाकाको टिमुरे भन्सारतर्फ जाने लाइनमा रहेका ५० भन्दा बढी कन्टेनर खासातर्फ डाइभर्ट भएका छन्। सबै गाडी खासाको बाटो भएर तातोपानी नाका आउन लागेकाले चिनियाँ सेना र पुलिस सडक निर्माणमा निस्किएका छन्।
बाह्रबिसे–लिपिङ–कोदारी सडक उस्तै जोखिमपूर्ण छ। उता खासा पुनर्निर्माण जारी रहेकाले जाङ्मुपोर्टको सडक पनि राम्रो छैन। बर्खामा उत्तरका दुवै नाका बाढीपहिरोले प्रभावित हुँदा व्यापार घाटा बढ्ने जोखिम छ।