
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सोमबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए। सत्तारूढ दलका सांसदहरूले प्रस्तावको पक्षमा मत दिँदा विपक्षीले विरोध गरेका थिए। बहुमत पक्षको समर्थनसँगै सभामुख पाठकले बजेट पारित भएको घोषणा गरेका हुन्।
बैठकले बजेटसँगै ल्याइएको पूरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अंकका रूपमा बहुमतले पारित गरेको छ। विपक्षी सांसदहरूले बजेटमा खर्च कटौती गर्नुपर्ने मागसहित विभिन्न प्रस्ताव दर्ता गराए पनि ती सबै प्रस्तावहरू बहुमतले अस्वीकृत भए।
बैठकमा सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाईं, पुष्पा भुजेल, उर्मिलाकुमारी लामा र सिर्जना सायजुले खर्च कटौतीका प्रस्ताव राखेका थिए भने आशा लामा र कुमारी तामाङले संयुक्त प्रस्ताव दर्ता गराएका थिए, तर ती प्रस्तावहरू संसदमा प्रस्तुत हुन सकेनन्।
बजेटमाथि आइतबार र सोमबार बिहान छलफल भएको थियो। मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्री काफ्लेले बजेटबारे उठेका प्रश्नको जवाफ दिएका थिए।
बजेट असार १ गते पेस गरिए पनि दलहरूबिच सहमति नहुँदा प्रदेश सभाका बैठकहरू स्थगित हुँदै आएका थिए। अन्ततः असार २० देखि थालिएको छलफलपछि आठबुँदे सहमतिसहित बजेट पारित गरिएको हो।