
मनमोहन प्राविधिक विश्वविद्यालयले अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई नै सद्भावना दूत (ब्रान्ड एम्बासडर) बनाउने अभियान सुरु गरेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–४ मा रहेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले विभिन्न संकायका विद्यार्थीहरूका अभिभावकहरूलाई सद्भावना दूत घोषणा गरी विश्वविद्यालयको पठनपाठनको गुणस्तर र अनुभवबारे प्रचार–प्रसार गराउने नीति लिएको हो।
रजिष्ट्रार डा. दिलनाथ फुँयालका अनुसार विश्वविद्यालयमा भर्ना हुने, परीक्षा पास गर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको कार्यक्रममा कम्तीमा एक जना अभिभावकको अनिवार्य उपस्थिति रहने व्यवस्था गरिएको छ। सो अवसरमा सम्बन्धित स्कुल र संकायहरूले विद्यार्थीको अध्ययन गुणस्तर, समस्याहरू र विश्वविद्यालयको सेवा–व्यवहारका बारेमा अभिभावकहरूसँग समिक्षात्मक अन्तरक्रिया गर्ने गरेका छन्।
विद्यार्थी र अभिभावकको गुनासो तथा सुझावलाई सुनेर तत्काल समाधान खोज्ने वातावरण यसले तयार गर्छ, रजिष्ट्रार फुँयालले भने । मनमोहन विश्वविद्यालयको स्कुल अफ इञ्जिनियरिङका डीन प्रा. प्रचण्डमान प्रधानका अनुसार परीक्षा र पठनपाठनमा कुनै सम्झौता नगरेकाले विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। यहाँका विद्यार्थीहरूले विश्वविद्यालयमै होइन, काउन्सिलका परीक्षाहरूमा समेत उत्कृष्ट नतिजा ल्याएरै देखाइरहेका छन्,प्रधानले बताए।
कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले २०७८ देखि स्कुल अफ इञ्जिनियरिङ, स्कुल अफ मेडिकल, र स्कुल अफ हेल्थ एन्ड एप्लाइड साइन्समार्फत स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयमा अध्ययन गराउँदै आएको छ।