
घामका पाइलाहरू : ध.च. गोतामेले लेखेको यो पुस्तक मलाई जहिल्यै मनपर्छ । पुस्तक चन्द्रशमशेरको समयको उपन्यास हो । पुस्तकमा लेखकले पवन र अणुबिचको अव्यक्त प्रेम, ती दुईजनाको चित्रण सजीव तरिकाले गरेका छन् । पुस्तकमा पवन र उसको हजुरबुबाबिचको सम्बन्ध, प्रेम, आत्मीयता, मार्गदर्शन अनि बुबाको सम्बन्धको खालीपनलाई सूक्ष्म मनोविज्ञानबाट हेरिएको छ । त्यसले यो पुस्तक पठनीय बनाएको छ । मानवीय संवेदनाले भरिभराउ भएर पनि पुस्तक मनपरेको हो ।
अनिँदो पहाडसँगै : पारिजातले लेखेको पुस्तकमध्ये मनपर्ने पुस्तक हो यो । धेरैले पारिजातको शिरीषको फूल मन पराएका छन् । मलाई भने यो पुस्तक धेरै मनपर्छ । सुवानी भन्ने पात्रमार्फत महिलालाई कसै अवस्थामा पनि हार्न हुँदैन भन्ने सन्देशबाट कथा रचिएको छ । उत्तर्राद्धमा आगलागीमा परेर उनको रहस्यमय तरिकाले मृत्यु भएको देखाएको छ । त्योभन्दा अगाडि नै सुवानीको बलात्कार भएको पनि देखाइएको छ । अहिलेको अवस्थामा बलात्कार हुनु भनेको सकिनु हो भन्ने समाजको मनोविज्ञान छ । तर, त्यो समयमा पनि पारिजातले बलात्कारपछि जीवन सकिनु होइन, अझै धेरै गर्न सकिन्छ भनेर सुवानीलाई बलियोसँग उठाएर सामाजिक, राजनीतिक क्रान्तिमा होमिएको दृश्य देखाएर महिला सशक्तीकरणलाई उपन्यासमा देखाइएको छ । पुस्तकमा गोरीमाया, चन्द्रकान्ताको जीवनका कथा भनेर महिलाको बलियोपन, जुझारुपनलाई ल्याएर सामाजिक उत्पीडन, सामाजिक व्यवस्था धान्नका लागि पृष्ठभूमिमा बसेर काम गर्ने महिलालाई देखाइएको छ ।
भोलि बास्ने बिहान : यो कृष्णभूषण बलले लेखेको कवितासंग्रह हो । उनी थोरै कविता लेखेर पनि लामो समय मान्छेको मनमा बस्न सफल व्यक्ति हुन् भने काठमाडौंभन्दा बाहिर मोफसलमा रहेर पनि काठमाडौंलाई हल्लाउन सक्ने क्षमता भएका कवि हुन् । कवितामा बिम्ब प्रयोग गर्न उनी सचेत देखिन्छन् । काव्यिक चेतको पराकाष्ठा संग्रहमा छ, त्यसैले मलाई यो संग्रह मन पर्यो ।
अन्ना करेनिना : यो लियो टोल्सटोयले लेखेको पुस्तक हो । वर्तमान परिप्रेक्ष्यमै हेर्दा पनि महिलाको विवाहेत्तर सम्बन्धलाई लिएर खराब चरित्रको रूपमा उभ्याइन्छ । पुस्तकमा अन्ना करेनिनालाई यसरी चित्रण गरिएको छ, विवाहेत्तर सम्बन्ध भ्रोन्स्की भन्ने केटासँग हुँदाहुँदै पाठकको मनमा अन्नामाथि नै सहानुभूति जान्छ । अन्नालाई कहिल्यै चरित्रहीन पात्रको रूपमा देखाइँदैन । उसको श्रीमान्को चरित्रलाई सम्भ्रान्त परिवारभित्र बाहिरबाट हेर्दा सबै ठिकठाकजस्तो देखिए पनि भित्रको खोक्रोपनमाथि व्यंग्य गरिएको छ ।
गणदेवता : यो पुस्तक राजनीतिज्ञ, लेखक, कवि ताराशंकर बंधोपाध्यायले लेखेका हुन् । पुस्तकमा सन् १९२९ देखि १९३५ बिचमा अंग्रेजशासित समयको भारतको बंगाली समाजलाई चित्रण गरिएको छ । पुस्तकमा करिब तीन दर्जन पात्र छन्, तैपनि प्रत्येक पात्रलाई सम्झिरहन सक्ने गरी चित्रण गरिएको छ । समग्रमा एउटा ठुलो क्यानभासलाई लिएर उपन्यास लेखिएको छ । पुस्तकमा बंगालमा पुँजीवादसँगै विभिन्न कलकारखाना खुल्दै गएका, ती कलकारखानामा काम गर्न त्यो समाजका मान्छे जान थोलेका, जुत्ता सिलाउने, फलामको काम गर्ने जातिले स्थानीयस्तरमा काम गर्न छाडेर काम गर्न जान थालेको परिदृश्य देखाइएको छ । जसले गर्दा जातीय भेदभाव कम भएको छ । पुरानो सामाजिक अर्थ व्यवस्थालाई भत्कँदै गएको छ । नयाँ र पुरानो पुस्ताबिच वैचारिक मतभेद आउन थालेको देखिन्छ । यस्ता कुरालाई उपन्यासमा मिहिन ढंगबाट चित्रण गरिएको छ ।
ह्वाट इज टु बि डन : यो पुस्तक निकोलाई चेनिसेब्स्कीले लेखेका हुन् । पुस्तक एक सय ६० वर्षअघि लेखिएको हो । निकोलाईले बन्दी जीवन बिताउने क्रममा पुस्तक लेखेका हन् । जतिवेला रुसमा जारहरूको शासन थियो । पुस्तकमा प्रतीकात्मक रूपमा एउटा महिलाको कथा ल्याएर भनिएको छ, तर यसले राजनीतिक सन्देश दिन्छ । निकोलाई आफैँ समाजवादी विचारक हुन् । रुचि क्रान्तिको अगुवा पनि हुन् । यो पुस्तक उनले चुरोटका कागजका टुक्रामा लेखेर गुप्त रूपमा बाहिर पठाएर उनको साथीले हातैले लेखेर तयार पारेका हुन् । पुस्तक लेख्दै गर्दा निकोलाईले चिट पठाउने क्रममा जेलरहरूले हेर्ने गर्थे । तर, साधारण घरेलु महिलाको उपन्यास लेखिएको भनेर झुट बोलिएको थियो । पछि यति ठुलो उपन्यास बन्ला भनेर कसैले पत्तो पाएनन् । पुस्तक राजनीतिक चिन्तनको उच्च अभ्यास हो ।