
हिमाली जिल्ला ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा पुनः पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण फेला परेको छ। गत वर्ष यस रोगले धेरै चौपायमा रोग देखिएको छ। मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपको दिङ्लास्थित एक किसानले पालेको चौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको मेरिङ्देन गाउँपालिका पशु सेवा शाखाले जनाएको छ।
कृषि शाखा प्रमुख मनोज श्रेष्ठले किसानले पालेको पशुचौपाया गाईमा लम्पी स्किन रोग सङ्क्रमण देखिएको बताए।दिङ्लाका एक किसानले पालेको गाईमा लम्पी स्किनको शंकास्पद अर्थात मिल्दोजुल्दो लक्षण देखिएपछि परिक्षणमा लम्कि स्किन रोग देखिएको पशु सेवा शाखा प्रमुख श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको गाईलाई १०५ डिग्रीसम्म ज्वरो आएको र गाईले घाँस दानापानी खान छोडेको पाइएको छ । लम्पी स्किन रोग परीक्षण गर्ने किट गाउँपालिकामा नभएका कारण परीक्षणमा समस्या भएको बताइएको छ। जिल्लामा लम्पी स्किन रोग परीक्षण गर्ने ल्याव नहुँदा नमुना संकलन गरी परीक्षण गर्न विराटनगर पठाउनुपर्ने अवस्था शाखा प्रमुख श्रेष्ठको भनाइ छ।
यता लम्पी स्किन रोगको लक्षण देखिएपछि सङ्क्रमित गाईलाई छुट्टै ठाउँ वा ग्वालीमा राखिएको बताइएको छ। झिँगा, लामखुट्टे, किर्ना, भुसुनालगायतको टोकाइबाट अन्य पशुचौपायामा रोग सर्न सक्ने भएकाले सतर्कता अपनाउन गाउँपालिकाले किसानहरुलाई आग्रह गरेको छ।