
छिमेकी चीनको निङ्बो पोलिटेक्निकको आयोजना तथा चीन सहायता व्यावसायिक प्रशिक्षण केन्द्रको सहयोगमा गत २९ जेठदेखि ११ असारसम्म चीनको पूर्वी भागस्थित झेजियाङ प्रान्तको निङ्बो सहरमा सञ्चालिन ‘लुबान वर्कसप’मा सहभागी हुने अवसर मिल्यो । यस क्रममा चीनले गरेका आर्थिक, प्राविधिक, सांस्कृतिकलगायतका विकास अवलोकन गर्ने अवसर मिल्यो । जसको सहजीकरण नेपाल–चाइना मिडिया फोरमले गरेको थियो ।
कला, संस्कृति, प्रविधि र राजनीतिमा अहिलेको चीन बन्न निङ्बोले महत्वपूर्ण भूमिका खेलेको छ । यो चीनका मुख्य १० सहरमा पर्छ । चीनको प्रमुख निर्यात केन्द्र र विश्वकै व्यस्त बन्दरगाहमध्ये यो पनि एक हो । यो प्रान्तसँग चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष सम्बन्ध छ । सीले २००२ देखि २००७ सम्म झेजियाङ प्रान्तको पार्टी सचिव (प्रमुख)का रूपमा काम गरेका थिए ।
चीनले विज्ञान र प्रविधिमार्फत अद्भूत विकास मात्रै गरेको छैन, परम्पराको संरक्षण पनि गरेको छ । जमिनमाथि मात्र होइन, भूमिगत र पुलमाथि पनि मेट्रो रेल सहज रूपमा चल्छन् । पहाडमा मात्रै होइन, नदीमुनि सुरुङमा पनि गाडी गुड्छन् । वर्षौँवर्ष पुराना घर, सम्पदादेखि ग्रामीण बस्तीलाई चीनले पर्यटकीय क्षेत्रका रूपमा विकास गरेको छ । चिनियाँ नागरिकको नम्र र सहयोगी भावनाले ‘उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ? भन्ने कवि शिरोमणि लेखनाथ पौडेलको कविता अंश सम्झिएँ ।
निङ्बोका हाउजिङ सिस्टम, सहरी सीमित स्थान र ग्रामीण भेगमा साना चिटिक्क परेका घर । यत्रतत्र पोखरी, बगैँचा, जतततै रुख–बिरुवा, ध्वनि र वायु प्रदूषणमुक्त बस्ती । फुटपाथमै निर्धक्क खानपान, धुलोधुवाँको कुनै चिन्ता छैन । आधुनिक पहुँचयुक्त र वातावरणमैत्री रेल, सार्वजनिक बस, इलेक्ट्रिक स्कुटर र ट्याक्सी, छुट्टै साइकल लेन । विमान, सडक र जलमार्गको संयोजन ।
सफा नदी तलाउ । चकित पार्ने चिल्ला सडकमा कहीँकतै सडक बालबालिका देखिएन, न त ट्राफिक प्रहरी नै । छिनछिनमा आइरहने सार्वजनिक बस । त्यहाँ बसले यात्रु कुर्दा रहेनछन्, यात्रुले बस कुर्दा रहेछन् । बस स्टपमा झर्ने र चढ्ने यात्रु नभएपछि एकछिन बस रोकिन्छ र गन्तव्यतिर लागिहाल्छ । मोबाइल फोन र विच्याटले चिनियाँको जीवनशैलीलाई निकै सहज बनाएको छ । ओभरहेड सडक र सुरुङमार्गका आ–आफ्नै लेन ।
चीनले प्राचीन इतिहास मात्रै पढाउँदैन, संरक्षण गरेर पनि राखेको छ । सयौँ वर्ष पुराना घर संरक्षणदेखि हस्तकलाका सामग्री आजको दिनमा पनि तयार पार्दै आएको छ । यस्तै, आधुनिकता र परम्पराको बेजोड संगमले चीन विश्वसामु चुलिँदै छ । विज्ञान र प्रविधिको विकाससँगै चीनले यतिधेरै प्रगति गरेको छ, जसबाट मोहित नहुने सायदै होलान् । विश्वकै शक्तिशाली चीन, आफ्नो वर्तमानलाई हेरेर विगतप्रति गर्व गर्छ । र, भविष्यप्रति चिन्तन–मनन ।
चिनियाँहरू अहिले पनि प्राचीन शिल्पकार लुबानको खुलेर प्रशंसा गर्छन् । लुबानबारे विद्यालय कलेज र सेमिनारमा पढाउँछन् । ‘समकालीन व्यावसायिक भावनामा लुबान संस्कृतिको प्रेरणा छ,’ चिनियाँ प्रोफेसर हे जिङ भन्छिन् । विगतमा पनि चिनियाँको आफ्नै शैली र संस्कार थिए, त्यसलाई जगेर्ना गर्दै विकास यात्रामा ठुलो फड्को मारेको छ ।
लुबान (इ.स.पू.५०७ – इ.स.पू.४४४) तत्कालीन लु राज्यका बासिन्दा थिए । उनलाई ‘शिल्पकारका पिता’को रूपमा सम्मान गर्ने गरेको अर्का प्रोफेसर झोउ चेन बताउँछन् । उनी कुशल शिल्पकारको परिवारमै जन्मिएका थिए । सानैदेखि शिल्पकारितामा रुचि राख्थे । तत्कालीन समयमा काष्ठकला, वास्तुकला र फलामका सामान निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको छ । ‘लुबानका नवप्रवर्तनकारी अभ्यासले समयको मागसँग गहिरो रूपमा मेल खायो । जसले उनलाई प्राविधिक प्रगतिको एक महत्वपूर्ण व्यक्तित्व बनायो,’ प्रोफेसर झोउ स्मरण गर्छन् ।
आधुनिक चीन निर्माणमा माओत्सेतुङ, देङ सियाओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङको मुख्य भूमिका छ । चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्सेतुङले भनेका थिए, ‘आज चिनियाँ आफ्नै खुट्टामा उभिएका छन्, अब दौडिनेछन् ।’ नभन्दै चिनियाँ दौडिएर आजको अवस्थामा आइपुगेका छन् । देङ सियाओपिङले आर्थिक क्रान्ति गरेका थिए भने आधुनिक समाजवादी चीन निर्माणमा सी केन्द्रित छन् ।
सीले नयाँ युगको चिनियाँ विशेषताको समाजवाद अघि बढाएको झोउ बताउँछन् । ‘समकालीन चीन न त मार्क्सवादी क्लासिक लेखकहरूले कल्पना गरेको ढाँचाको सरल प्रयोग हो, न त यो अन्य देशमा समाजवादी अभ्यासको पुनर्मुद्रण हो । वा विदेशमा आधुनिकीकरण विकासको प्रतिलिपि हो । समाजवादको कुनै निश्चित र अपरिवर्तनीय रूटिन छैन । वैज्ञानिक समाजवादका आधारभूत सिद्धान्तलाई आत्मसात् गर्दै समयको आवश्यकतासँग एकीकृत र निरन्तर अभ्यासबाट सुन्दर वास्तविकतामा परिवर्तन गर्न सक्छौँ,’ उनले भने ।
समकालीन चीनको मार्क्सवाद मानव विकासका प्रमुख मुद्दामा बुद्धिमान सोच र अनौठा दृष्टिकोणले भरिएको छ । यसले मार्क्सवादका सिद्धान्तमा आधारित, अनौठा सांस्कृतिक विशेषताको प्रतिनिधित्व गर्ने र पश्चिमी मोडेल र भाषाशास्त्रबाट स्वतन्त्र रहेको विचारधारात्मक, मूल्य, लक्ष्य, संस्थागत प्रणाली र रणनीतिक प्रणाली निर्माण गरेको छ । यसले समकालीन चीनमा मानवताका लागि राम्रो भविष्यको कठिन अन्वेषणको प्रतिनिधित्व गर्दछ । उनी थप्छन्, ‘विकासशील देशहरूलाई आधुनिकीकरणतर्फ बढ्नका लागि मार्ग विस्तार गर्दछ । र, ती देशहरूका लागि नयाँ विकल्प प्रदान गर्दछ । जसले विकासलाई तीव्र बनाउन र आफ्नो स्वतन्त्रता कायम राख्न चाहन्छन् ।’ बिआरआई परियोजना पनि त्यसैको निरन्तरता भएको उनले बताए । ‘चीनको सुधार र खुलापनले आफैँमा पुनरुत्थान र समृद्धि मात्र ल्याएन । जिम्मेवारी पनि थपियो र विश्वशान्ति र विकासमा थप योगदान पुर्यायो,’ झोउले भने ।
विज्ञान–प्रविधिमा चमत्कार
चीनले समुद्र र अन्तरिक्षमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेको छ । अन्तरिक्ष र समुद्र अन्वेषण, रोबोटिक्स र एआईसहित विज्ञान, प्रविधिको अन्वेषणमा चीनले गरेको प्रगति निङ्बोस्थित निङ्बो विज्ञान प्रदर्शनी (संग्रहालय)मा हेर्न पाइयो । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा जनचेतना बढाउन यो संग्रहालयले महत्वपूर्ण भूमिका खेलेको पाइयो । यहाँ अवलोकनका लागि प्रवेश शुल्क लाग्छ, तर विद्यार्थीका लागि विशेष छुटको व्यवस्था छ ।
प्रिन्टिङ उद्योगमा नवीनतम प्रविधिको विकास गरेको छ । स्वास्थ्यको क्षेत्रमा पनि ठुलो फड्को मारेको छ । हांजोको आर्क ब्रिज र नदीमुनिको सुरुङले भ्रमणलाई रमणीय बनायो । सहर र विश्वविद्यालय भ्रमण स्मरणीय रह्यो । हांजोले स्मार्ट सहर परियोजना, प्रदूषण नियन्त्रण र हरियाली विस्तारमा जोड दिइरहेको छ । समग्रमा चीनको अद्भूत विकासका साथै, इतिहास, संस्कृति, व्यापार र प्रविधिको संगम एकै ठाउँमा अनुभव गर्न निङ्बो भ्रमण सफल रह्यो ।
स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको स्तर स्तरीय छ । शिक्षाको स्मार्ट हब र स्वास्थ्य सेवामा डिजिटल मोडेल भिन्नै परिचय बनाउँदै छ । निङ्बो प्रविधि र व्यावसायिक शिक्षामा निकै अगाडि छ । जसले नवप्रवर्तन, अनुसन्धान र प्राविधिक विकासमा सहयोग पुगेको छ । पेट्रोकेमिकल, अटोमोबाइल पार्टस्, मेसिनरी, प्लास्टिक र इलेक्ट्रोनिक्स, मोबाइल प्रविधि, कपडाका ब्रान्डमा अगाडि छ ।
मेडिकल उपकरण उत्पादन गर्ने कम्पनीले संक्रामक रोग, मिर्गौला, थाइराइड, क्यान्सर, हृदय रोग, लागुऔषध परीक्षणलगायतमा अत्याधुनिक यन्त्र उत्पादन गरेको छ । जसको माग विश्वव्यापी रूपमा बढ्दै गएको कम्पनीले जनायो । परम्परागत चिनियाँ स्न्याक्सको ब्रान्डमा पनि उनीहरू अगाडि छन् । सांगुआनलिउ मातोउले स्थानीय ब्रान्डको रूपमा बेकरी आइटम उत्पादन गरिरहेको छ । यसले परम्परागत चिनियाँ स्न्याक्स र ग्रामीण हस्तकला आधारित खाद्यवस्तु उत्पादन गर्छ । जहाँ ससाना नानीबाबुहरूले खाद्यान्न बनाइरहेको देखिन्छ । कला, संगीतमा पनि निङ्बोले फड्को मारेको छ ।
हाइलुन पियानो संग्रहालय र उत्पादन केन्द्र प्रख्यात छ । उक्त पियानोको विश्वभर माग बढ्दो रहेको कम्पनीले जनायो । लुवानको सहरमा लुवानले प्रयोग गरेका विभिन्न काठको सामग्री बनाउने कामको अनुभवसमेत गर्न पाइयो । साथसाथै, हाइटिन ग्रुपको उत्पादन विभिन्न निर्माण सामग्री, अटोमोबाइल, प्लास्टिक प्रोसेसिङ, मेकानिकल इन्जिनियरिङ र विभिन्न स्मार्ट प्रविधिको अवलोकन अविश्मरणीय रह्यो ।
निङ्बोले उब्जाएको प्रश्न
झेजियाङ प्रान्तको निङ्बो सहरको विकास मोडेल लुबान वर्कसपको अध्ययन सामग्रीमा एक प्रमुख विषय हो । निङ्बोले चीनको खुला आर्थिक नीतिअन्तर्गत आफ्नो बन्दरगाहलाई विश्वव्यापी व्यापार केन्द्रमा परिणत गरेको छ । निङ्बोको विकासमा स्थानीय सरकारको सक्रिय भूमिका, जनताको सहभागिता र आधुनिक पूर्वाधार निर्माणका साथै नवप्रवर्तनशील प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेलेको छ । जसले औद्योगीकरण, व्यापार, टेक्नोलोजी र हरित ऊर्जा क्षेत्रबिच बेजोड सन्तुलन कायम गरेको छ । लुबान वर्कसपको सिलसिलामा विभिन्न परियोजनाको अध्ययन गर्ने अवसर पाइयो । साथै, अध्ययन भ्रमणको क्रममा पुगेको झेजियाङ प्रान्तको राजधानी हांजो साँच्चिकै मनमोहक थियो ।
व्यावसायिक शिक्षा र यसको कार्यान्वयन पाटोबारे चिनियाँ नीति स्पष्ट छ । चिनियाँहरू विद्यार्थी केन्द्रित सिकाई प्रणालीमा विश्वास गर्छन् । औपचारिक शिक्षा मात्रै दिँदैन, व्यावहारिक सीप पनि सिकाउँछ । जसले विद्यार्थी र उद्योगलाई सीधा जोड्छ । उद्योगमा आवश्यक जनशक्ति शिक्षालयले तयार पार्छ । जसको मुख्य उद्देश्य नै व्यावसायिक र प्राविधिक शिक्षा दिनु हो ।
मिहिनेत र कामप्रतिको विश्वास : द्रुत विकासको कारण
चीनले द्रुत विकास गर्नुको पछाडि कामप्रतिको विश्वास र अथाह मिहिनेत नै हो । त्यसको जग निर्माण व्यावसायिक शिक्षाले गरेको छ । ३०औँ वर्षदेखि सक्रिय प्रोफेसरले समेत समय–समयमा आफूलाई प्रणाणित गर्नुपर्छ । दिनैपिच्छेजसो कामको परीक्षा दिइरहनुपर्छ । प्रोफेसर कक्षाकोठामा पठाउने मात्रै होइन, कारखानामा आफैँ खटिएर काम गर्छन् । कामप्रतिको सम्मानले सिंगो देश नै सम्मानित बनेको छ ।
वर्कसपको अन्तिम दिन पंक्तिकारले प्रोफेसर दोङ हुन्गानलाई सोध्यो– चीनमा यति धेरै विकास कसरी सम्भव भयो ? उनले जवाफ दिए– चीनबारे कुरा गर्नु एकदमै ठुलो विषय हो । व्यावसायिक शिक्षाको दृष्टिकोणबाट यो धेरै लामो प्रक्रिया हो । हामीले धेरै चुनौतीको सामना पनि गर्यौँ । सुरुमा हामी विकसित क्षेत्रबाट सिकिरहेका थियौं । तर, हामीले पत्ता लगायौँ कि हामीसँग फरक अवस्था छन् । सरकारबाट विभिन्न स्तरका समर्थन छन्, फरक लगानी छन्, फरक क्षमता छन्, त्यसैले तिनीहरूसँग भएको कुराको नक्कल गर्न सम्भव छैन र यसको सट्टा आफ्नै मोडेल अपनाउनुपर्छ । कम्पनीसँग कसरी सहकार्य गर्ने भनेर हेर्नुपर्छ ।’
उनले थपे, ‘सुरुमै यो धेरै गाह्रो थियो, हामीसँग सीमित कोष थियो र त्यसैले विकासका लागि उद्योगसँग सम्बन्धित कम्पनीसँग काम गर्नु आवश्यक थियो । सोहीअनुसारको शिक्षा प्रणालीको विकास गर्यौँ ।’ विद्यार्थीलाई सीप सिकाएर उद्योगलाई आवश्यक जनशक्ति तयार पार्दै गयौँ । सानैदेखि इनोभेसनमा जोड दियौँ ।
कामबाट आफूलाई प्रमाणित गरिरहनुपर्छ । नवीन काम गरिएन भने प्रोफेसर पनि प्रोफेसर रहिनरहन सक्छ । ‘हाम्रा विद्यार्थीले कम्पनीको कामदारको आवश्यकता पूरा गर्न सकून् । यसकारण, हामीले विद्यार्थीलाई राम्रोसँग तालिम दिनुपर्छ ।’ चीनले विकासमा फड्को मार्नुको एक कारण उल्लेख गर्दै उनले भने, ‘हामी चुनौतीलाई एक–एक गरेर सम्बोधन गर्ने प्रयास गर्छौँ । समाधानका विभिन्न उपाय निकाल्छौँ । किनभने त्यहाँ धेरै दबाब छ जसले अगाडि बढ्न र सुधार गर्न मद्दत गर्छ ।’ हाम्रोमा प्रोफेसरको प्रमाणपत्र जीवनभर हुँदैन । तीन वर्षमा यदि तपाईंले थप नवीनता गर्नुभएन भने नयाँ अनुसन्धानको साथ आउनुभएन भने नयाँ उपलब्धि हासिल गर्नुभएन भने अर्को पटक प्रोफेसरको रूपमा प्रमाणित नहुन सक्छ । त्यसैले सुधार गरेर अगाडि बढ्नका लागि सधैँ दबाब रहन्छ ।’