
नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा शनिबार सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दै छ । लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको नेपालले पाँच खेलमा ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको छ । यही प्रदर्शनलाई निरन्तरता दिँदै सिंगापुरलाई उपाधि भिडन्तमा निराश बनाउने लक्ष्य नेपालको छ । नेपालले सेमिफाइनलमा साबिक उपविजेता तथा घरेलु टोली मलेसियामाथि नौ विकेटको सानदार जित निकाल्दै अन्तिम दुई स्थान रक्षा गरेको हो ।
नेपाल र सिंगापुरबिच प्रतियोगितामा दोस्रोपटक आमनेसामने हुँदै छ । यसअघि समूह ‘ए’मा नेपालले सिंगापुरमाथि सानदार जित निकालेको थियो । सिंगापुरले त्यसपछि लगातार चार खेलमा दरिलो प्रदर्शन गरेको छ । फाइनलअघि सिंगापुरको मनोबल उच्च छ । उनीहरूको प्रयास पनि नेपाललाई स्तब्ध पार्दै उपाधि जित्ने नै हो । सिंगापुर र नेपाल उत्कृष्ट फर्ममा रहँदा उपाधि भिडन्त रोमाञ्चक हुने अपेक्षा छ ।
सिंगापुरले उमेर समूहमा पहिलोपटक हङकङलाई सेमिफाइनलमा सहजै हराएको थियो । कडा प्रतिद्वन्द्वीलाई पन्छाएको सिंगापुरले समूह चरणमा नेपालसँगको कमजोर प्रदर्शन नदोहोर्याउने पक्षमा छ । अहिले सिंगापुरका बलर र ब्याट्सम्यानले एकरूपताका साथ प्रदर्शन गरेका छन् । यसैको सहयोगमा नेपाललाई दुवै इनिङ्समा दबाब दिने उनीहरूको प्रयास हुनेछ ।
प्रतियोगिताको व्यक्तिगत प्रदर्शनमा सिंगापुरका खेलाडी पनि अगाडि छन् । लगभग सबैजसो विधामा नेपाल र सिंगापुरका खेलाडीले शीर्ष पाँचभित्र स्थान बनाएका छन् । यसले पनि सिंगापुरले फाइनलमा नेपाललाई चुनौती दिन सक्ने आधार देखिन्छ । उमेर समूहमा नेपाल अहिलेसम्म सिंगापुरसँग हारेको इतिहास छैन । नेपाल यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ । उपाधि भिडन्तअघि खेलाडीका व्यक्तिगत प्रदर्शन यस्ता छन् ।
पहिलो खेलदेखि सेमिफाइनलसम्म नेपाली बलरले विपक्षीमाथि उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो ब्याटिङ वा लक्ष्य रक्षा गरेको इनिङ्समा नेपाली बलरले कसिलो र धारिलो प्रदर्शन गरेका छन् । प्रतियोगितामा धेरै मेडन फ्याँक्ने देश नेपाल हो । अझ यसमा शीर्ष तीन स्थानमा नेपालका बलरले धेरै मेडन ओभर गरेका छन् । कप्तान विपिनप्रसादले पाँच खेलमा १२ मेडन, दोस्रो स्थानमा शुभम खनालले पाँचै खेलमा ११ मेडन र नेपालका सचिन भट्टले पाँच खेलमा १० मेडन गरेका छन् । नेपालका सुयोग भट्टराईले तीन खेलमा तीन मेडन राख्दै १८औँ स्थान रक्षा गरेका छन् ।
सर्वाधिक रन बनाउने रौनक : खेल ५, रन २९६, शतक १, अर्धशतक १
नेपालका रौनक श्रीवास्तव प्रतियोगितामै सर्वाधिक रन बटुल्ने ब्याट्सम्यान हुन् । उनले पाँच खेलमा दुई सय ९६ रन जोडेका छन् । रौनकले चालू प्रतियोगितामा समान एक शतक तथा अर्धशतकीय इनिङ्स खेलेका छन् । रौनकले कमजोर प्रतिद्वन्द्वी भुटानविरुद्ध एक सय ६८ रन बटुलेका थिए । सो इनिङ्समा उनले १६ चौका र पाँच छक्का प्रहार गरे । समग्रमा उनले प्रतियोगिताभरि पाँच खेलमा २९ चौका र आठ छक्का प्रहार गरेका छन् । नेपालको उमेर समूहमा व्यक्तिगत एक सय ५० रनभन्दा माथि योगफल बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् ।
सर्वाधिक रनको शीर्ष स्थानमा सिंगापुरका आहानले रौनकलाई पछ्याइरहेका छन् । आहानले दोस्रो सर्वाधिक रनका रूपमा दुई सय ४२ रन जोडेका छन् । हङकङका रेयांश शर्माले दुई सय ३० रन बनाएका छन् । नेपालका प्रसिद्ध जैसी दुई सय २९ रनका साथ चौथो स्थानमा छन् । प्रसिद्धले पाँच खेलमा समान एक शतक र अर्धशतक बनाए । उनले अहिलेसम्म २४ चौका र एक छक्का प्रहार गरे ।
धेरै विकेट लिनेमा विपिन : खेल ५, विकेट १६
पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट ट्यालेन्ट हन्टबाट प्रतिस्पर्धा गरेका विपिनप्रसाद शर्माको कप्तानीमा नेपालले मलेसियामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । मैदानभित्र कुशल नेतृत्व गर्नुका साथै उनले विपक्षीका ब्याट्सम्यानलाई समेत पेभेलियन पठाउन अलराउन्डर भूमिका निर्वाह गरेका छन् । बलिङमा एकरूपता प्रदर्शन गरेका विपिनले अहिलेसम्म पाँच खेलमा सर्वाधिक १६ विकेट हात पारेका छन् । उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।
उनले २.०३ को इकोनोमीमा दुईपटक चार विकेटभन्दा बढी प्रदर्शन गरेका छन् । यसैगरी, उनले एकपटक पाँच विकेट लिए । उनले इन्डोनेसियाविरुद्ध केवल ७.३ ओभरमा दुई मेडन राखी १२ रन खर्चेर सर्वाधिक ६ किवेट लिएका थिए । दोस्रो स्थानमा सिंगापुरका युभान पाण्डे छन् । उनले पाँच खेलमा १४ विकेट लिए । युभानले पनि दुईपटक चार तथा एकपटक पाँच विकेट लिए । तेस्रो स्थानमा म्यानमारका साउमिनले चार खेलमा १२ विकेट लिए ।
प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको छिनोफानो शनिबार हुनेछ । विपिन र युभानबिच कडा टक्कर हुने अनुमान छ । विपिनसँग बराबरी गर्न युभानलाई दुई विकेट आवश्यक छ । विपिन आफ्नो विकेट संख्या बढाउने प्रयासमा हुनेछन् ।
रेयांशले बनाए छिटो शतक : शतक ६१ बल, मलेसियाविरुद्ध
उपाधि दाबेदार मानिएको हङकङ सेमिफाइनलमा सिंगापुरबाट पराजित भयो । आयोजक मलेसियासँग तेस्रो स्थानका लागि हङकङले प्रतिस्पर्धा गर्दै छ । हङकङका ब्याट्सम्यान रेयांश शर्माको नाममा प्रतियोगितामा एक रेकर्ड बनेको छ । उनले मलेसियासँगको खेलमा छिटो शतकीय इनिङ्स खेले । उनले केवल ६१ बलमा सय रन जोडे । समग्रमा उनले एक सय २३ रन बनाउन १० छक्का र १२ चौका प्रहार गरे ।
नेपालका ओपनर प्रसिद्ध जैसी दोस्रो छिटो शतक बनाउने खेलाडी हुन् । उनले इन्डोनेसियासँगको खेलमा ६९ बलमै शतक लगाए । खेलमा एक सय ३२ रन जोडेका उनले एक छक्का र १५ चौका प्रहार गरे । सिंगापुरका आहानले ८७ बलमा भुटानविरुद्ध शतक लगाएका छन् । नेपालका रौनक श्रीवास्तवले भुटानविरुद्ध ९५ बलमा शतक ठोके । उनी छिटो शतक लगाउने सूचीको चौथो स्थानमा छन् ।
छिटो अर्धशतक बनाउने परिमार्जन : अर्धशतक बल २०, इन्डोनेसियाविरुद्ध
नेपालका ओपनर परिमार्जन यादवको नाममा छिटो अर्धशतक बनाउने कीर्तिमान छ । उनले इन्डोनेसियासँगको खेलमा केवल २० बलमै ५० रन पूरा गरेका थिए । सो खेलमा ७१ रन बटुलेका उनले आठ चौका र चार छक्का प्रहार गरेका थिए । प्रतियोगितामा कम बलमा शतक लगाएका हङकङका रेयांश शर्माले मलेसियाविरुद्ध २८ बलमा ५० रन पूरा गरे । दोस्रो स्थानमा रहेका रेयांशले एक सय २३ रन बनाउन १० छक्का र १२ चौका प्रहार गरेका थिए । यसैगरी, नेपालका प्रसिद्ध जैसीले इन्डोनेसियासँगैको खेलमा ३३ बलमा ५० रन जोडेका थिए । चौथो स्थानमा परिमार्जन नै छन् । उनले मलेसियाविरुद्ध ३३ बलमा अर्धशतक बनाए ।