
मुलुककै जेठो र सर्वाधिक ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको छात्रावासमै सरसफाइ र आधारभूत व्यवस्थापन नै गएगुज्रिएको देखेपछि सांसदहरूले तत्काल सो अवस्था सुधार्न सम्बद्ध पदाधिकारीहरूलाई निर्देशन दिएका छन् ।
त्रिविको ईश्वरी कन्या छात्रावासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न बिहीबार अपराह्न कीर्तिपुर पुगेको प्रतितिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई यस्तो निर्देशन दिएको थियो । टोलीमा समितिका सभापति अब्दुल खानसहित सांसदहरू कान्तिका सेजुवाल, महेन्द्रबहादुर शाही, रेखा यादव, सूर्यमान दोङ, रणेन्द्र बराइली, रुक्मणि राणा बराइली, सीता मिजार, सपना राजभण्डारी, मंगलप्रसाद गुप्ता र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. ईश्वर सुवेदी त्रिवि छात्रावास पुगेका थिए ।
विश्वविद्यालयको छात्रावासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो घटना हो । संसदीय टोलीलाई छात्रावास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहाेर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्साको टेबुल, बस्ने मेच आदि साधन अत्यन्त फोहाेर भएको देखाएका थिए ।