
कास्की दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुग्ने पहिलो टोली बनेको छ । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा चलिरहेको प्रतियोगिताको दोस्रो दिन कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो ब्याटिङ गरेको कास्कीले २० ओभरमा चार विकेट गुमाएर ११७ रन बनायो । प्रत्युत्तरमा नवलपुरले २० ओभरमा सात विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनीले ७ रन बनाइन् । कास्कीकी चन्द्रमाया बरालले दुई विकेट लिइन् ।
कास्कीको ब्याटिङमा रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको योगदान दिए । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा एक चौका प्रहार गरिन् । दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण अंक बाँडेका छन् । १४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै दुई विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो ।
लगातार वर्षापछि खेल सुचारु हुन नसक्दा अम्पायरले दुवै टोलीलाई अंक प्रदान गरे । टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा चार विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाकी सिमाना केसीले ३३ रनको योगदान दिइन् ।
उनले ३८ बलमा दुई चौका प्रहार गरिन् । श्रेया शाहले १९ र सलिना सेनले १३ रन बनाए । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । पवर्तका लागि दीपिका सापकोटाले दुई तथा प्रतिभा खड्काले एक विकेट लिए ।