
नवलपुरको कावासोती– १४, त्रिभुवनटारस्थित जनता माविका छात्राहरूलाई दुर्व्यवहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पुस्तक पसलमा सामान किन्न जाने क्रममा छात्राहरूलाई दुर्व्यवहार गर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
जनता मावि स्कुलनजिकै रहेको सुजन पुस्तक पसलका सञ्चालक ४८ वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। ढकालका अनुसार छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका श्रेष्ठले पुस्तक पसलमा आउने बालिका तथा छात्राहरूलाई दुर्व्यवहार गर्दै आइरहेको, तर बालिकाहरूले भन्न नसकेको खुल्न आएको छ। एक बालिकाले यस घटनाबारे अभिभावकलाई जानकारी गराएपछि विद्यालय हुँदै प्रहरीसम्म घटना पुगेको विद्यालय प्रशासनले जनाएको छ।
प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेका श्रेष्ठउपर अनुसन्धान भइरहेको छ। घटना बाहिर आएपछि विद्यालयपरिसरमा दोषीउपर कारबाही गर्नुपर्ने माग गर्दै विद्यार्थीहरूले नाराबाजीसमेत गरेका थिए।
प्रहरीले उनलाई पक्राउ गरेपछि स्थिति सामान्य बनेको छ। श्रेष्ठ यसअघि पनि जुवातास खेल्ने अभियोगमा पक्राउ परेर सजाय भुक्तान गरेका थिए भने एकजना युवतीलाई जबर्जस्ती करणी गरेको आरोप पनि उनीमाथि छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला भण्डारीले दुर्व्यवहारमा परेको पाँचजना छात्रा र उनका अभिभावकले प्रहरीमा उजुरी गरेका छन्। त्यसैगरी विद्यालय व्यवस्थापन समितिको वैठकले अर्को छुट्टै पुस्तक पसल सञ्चालनको लागि पहल गर्ने निर्णय गरेपछि विद्यार्थीको आन्दोलन साम्य भएको हो।