१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
पवन तिमिल्सिना काठमाडाैं
Invalid date format ११:५९:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

वैशाखमा चार अर्ब ५० करोड रकमान्तर

काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजनाको एक अर्ब २४ करोड तीन परियोजनामा पठाइयो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo
  • उच्च रकमान्तरले नीतिगत स्थायित्व, योजना तयारी र बजेट कार्यान्वयनको विश्वसनीयतामाथि निरन्तर उठिरहेको छ प्रश्न
  • चैतमा भएको थियो, दुई अर्ब १० करोड २३ लाख रकमान्तर, त्यसमध्ये ३८ करोड  स्थानीय सडक पुल निर्माण आयोजनामा पठाएको अर्थ मन्त्रालयको तथ्यांक 

धेरै रकमान्तर भएका मन्त्रालय

  • भौतिक मन्त्रालय : २ अर्ब ५२ करोड 
  • सहरी विकास मन्त्रालय : १ अर्ब ३९ करोड
  • गृह मन्त्रालय : २३ करोड ७३ लाख 
  • शिक्षा मन्त्रालय : १७ करोड ७१ लाख 
  • ऊर्जा मन्त्रालय : ११ करोड ५० लाख 
  • खानेपानी मन्त्रालय : ५ करोड ९० लाख

सरकारले बजेट अनुशासनको उल्लंघन गर्दै तोकिएका आयोजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च नगरेर अन्तै रकमान्तर गर्ने प्रवृत्तिलाई निरन्तरता दिएको छ । चालू आर्थिक वर्ष ०८१/८२ को वैशाख महिनाभरि सरकारले पुँजीगत खर्चअन्तर्गत चार अर्ब ५० करोड ८५ लाख ८४ हजार बजेट रकमान्तर गरेको छ । 

योजनाहरूको कार्यान्वयन अवस्था, खर्चको गति र प्राथमिकतामा आएको हेरफेरका कारण विभिन्न मन्त्रालय तथा निकायहरूले पहिले स्वीकृत गरिएको उपशीर्षकअन्तर्गतको रकम घटाएर नयाँ उपशीर्षकमा रकम सार्ने गर्छन् । यसलाई रकमान्तर भनिन्छ । तर, यस्तो उच्च परिमाणको रकमान्तरले नीतिगत स्थायित्व, योजना तयारी र बजेट कार्यान्वयनको विश्वसनीयतामाथि प्रश्न उठाएको जानकारहरू बताउँछन् ।

वैशाखमा सबैभन्दा धेरै रकमान्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको देखिन्छ । यस मन्त्रालयअन्तर्गत मात्रै दुई अर्ब ५२ करोड रुपैयाँभन्दा बढी बराबरको पुँजीगत बजेट एक उपशीर्षकबाट अर्कामा सारिएको छ । विशेष गरी काठमाडौं–तराई मधेश फास्ट ट्रयाक आयोजनाबाट एक अर्ब २४ करोडको रकमान्तर भएको छ । यो आयोजनाबाट ९० करोड रुपैयाँ ‘सुरुङमार्ग विकास कार्यक्रम’मा, १४ करोड ७४ लाख ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’मा र २० करोड १२ लाख ‘औद्योगिक करिडोर विस्तार’मा सारिएको छ । 

भौतिक मन्त्रालयअन्तर्गत नै अरुण करिडोर, सेती राजमार्ग, पुष्पलाल राजमार्ग, बेनीघाट–आरुघाट–लार्के सडक, गल्छी–त्रिशूली–रसुवागढी सडक, डुम्रे–मनाङ सडक, चतरा–ओलाङचुङगोला करिडोरलगायतबाट कटौती गरी अन्य शीर्षकमा रकम सारिएको छ । यस मन्त्रालयबाट मात्र दर्जनभन्दा बढी उपशीर्षकमा रकमान्तर गरिएको छ । सहरी विकास मन्त्रालय पनि बजेट रकमान्तरको हिसाबले दोस्रो स्थानमा छ । सहरी विकास मन्त्रालयले करिब एक अर्ब ३९ करोड ४८ लाख रुपैयाँबराबरको रकमान्तर गरेको छ । बस्ती विकास कार्यक्रमबाट संघीय सचिवालय निर्माण तथा सघन सहरी विकास कार्यक्रममा धेरै रकम सारिएको छ । ‘स्थानीय सडक पुल तथा सामुदायिक पहुँच सुधार’, ‘भवन निर्माण संहिता’ र ‘झोलुंगे पुल क्षेत्रगत कार्यक्रम’मा समेत रकमान्तर गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत महाकाली सिँचाइ आयोजना र सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट ११ करोड ५० लाख रुपैयाँ कटौती गरी जलस्रोत संरक्षण आयोजना तथा अन्य कार्यक्रममा रकम सारिएको छ । खानेपानी मन्त्रालयले पनि पाँच करोड ९० लाख रुपैयाँभन्दा बढीको रकमान्तर गरेको छ । यसमा ढल निर्माण, केन्द्रीय खानेपानी आयोजना र कोभिड–१९ रेस्पोन्स आयोजनाबिच रकम रकमान्तरण गरिएको हो । 

गृह मन्त्रालयले प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, उपत्यका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बललगायतका उपशीर्षकबाट २३ करोड ७३ लाख रुपैयाँभन्दा बढी कटौती गरी प्रहरी प्रधान कार्यालय र क्षेत्रीय सशस्त्र प्रहरी बल कार्यालयतर्फ सारिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नै उपशीर्षकभित्र १७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम रकमान्तर गरेको छ ।

चैत महिनामा सरकारले दुई अर्ब १० करोड २३ लाख रुपैयाँ बजेट एक उपशीर्षकबाट अर्कोमा रकमान्तर गरेको थियो । चैतमा सबैभन्दा बढी भौतिक मन्त्रालयअन्तर्गत नै रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण आयोजनाबाट ३८ करोड रुपैयाँ स्थानीय सडक पुल निर्माण आयोजनामा रकमान्तर भएको थियो । 

८८ करोड ५५ लाख थप निकासा

  • गृह, अर्थ, रक्षा, स्वास्थ्य, सहरी विकास र परराष्ट्र मन्त्रालय तथा राष्ट्रपति कार्यालयलगायतका निकायलाई स्वीकृत नभएका शीर्षकमा खर्च गर्न छुट्टै स्रोतबाट ठुलो रकम प्रदान
  • कारागार कार्यालयलाई तीन करोड ३१ लाख थप खर्च निकासा
  • राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणलाई दुई करोड ७३ लाख

चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै सरकारले विभिन्न मन्त्रालय तथा निकायलाई ८८ करोड ५३ लाख ६४ हजार दुई सय रुपैयाँबराबरको थप निकासा रकमान्तरको माध्यमबाट गरेको छ । यो रकम पहिले स्वीकृत नभएका शीर्षकमा खर्च गर्न छुट्टै स्रोतबाट सारिएको हो । अधिकांश रकम अदालत, गृह मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयजस्ता  निकायलाई दिइएको हो ।

अदालत क्षेत्रमा मात्र करिब ८१ लाख २० हजार रुपैयाँबराबरको निकासा गरिएको छ । सर्वोच्च अदालत, जिल्ला अदालत र विशेष अदालतलाई कोर्ट फी फिर्ता गर्न र प्रशासनिक खर्चका लागि बजेट थपिएको हो । विशेष अदालतलाई मात्रै दुईपटक गरेर झन्डै २५ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

अर्थ मन्त्रालयले करिब ७९ लाख रुपैयाँबराबरको रकमान्तर पाएको छ, जसमा आन्तरिक राजस्व कार्यालयमार्फत अवकाश कोषबाट फिर्ता गर्नुपर्ने कर रकम, सिर्जित दायित्व भुक्तानी, भन्सार कार्यालयको तलब व्यवस्थापन र स्विस एसडिसी अनुदानमा आधारित परियोजनाको रकम फिर्ताजस्ता शीर्षकमा बजेट उपलब्ध गराइएको छ ।

गृह मन्त्रालयअन्तर्गत कारागार कार्यालयलाई मात्रै तीन करोड ३१ लाख रुपैयाँ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणलाई दुई करोड ७३ लाख, हज समिति र मिटरब्याज पीडित समस्या समाधान आयोगलाई समेत रकम रकमान्तर गरिएको छ । परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दुवैलाई सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि रकम दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत विशेष सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयलाई थप रकम प्रदान गरिएको छ । राष्ट्रपति कार्यालयले विभिन्न शीर्षकमा गरी चारपटकको निकासाबाट ९५ लाख रुपैयाँभन्दा बढी थप निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गत मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, महाराजगन्जलाई मात्रै ५० लाख रुपैयाँ थप गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले पनि २५ लाख रुपैयाँ प्राप्त गरेको छ भने सहरी विकास मन्त्रालयले आफ्ना दुई उपशीर्षकमा गरेर करिब १६ लाख रुपैयाँ पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अतिरिक्त समूहमा कार्यरत कर्मचारीको पारिश्रमिक र महँगी भत्ताबापत ४३ लाख रुपैयाँभन्दा बढी, सूचना तथा प्रविधि मन्त्रालयअन्तर्गत ७५ लाख रुपैयाँ र लोकसेवा आयोग, निर्वाचन आयोग, रक्षा मन्त्रालय र अन्य निकायलाई आ–आफ्नो शीर्षकअनुसार रकमान्तर निकासा गरिएको छ ।

मन्त्रिपरिषद्को ८ वैशाखको निर्णयानुसार गत १५ चैतमा तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सबिन महर्जन र सुरेश रजकका नजिकको हकदारलाई राहतस्वरूप २० लाख रुपैयाँ निकासा दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।