
अछामको पातलकोटका वीरबहादुर साउदको करेन्ट लागेर मृत्यु भएको छ। साँफेबगर–१४ पालकोटस्थित दलित सञ्जालको भवनमा करेन्ट लाग्दा उनको मृत्यु भएको हो। भवनको छानो मर्मत गरिरहेका वेला बिजुलीको तारबाट ४१ वर्षीय साउदलाई करेन्ट लगेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार घरको छानोमा रहेको कर्कट पाताले बिजुलीको मुख्य प्रसारण लाइन छोएपछि साउदलाई करेन्ट लगेको थियो। उनी पुरानो कर्कट पाता हटाएर नयाँ कर्कट पाता फेरिरहेका थिए। करेन्ट लागेर भुँइमा खसेका उनलाई तत्काल उद्धार गरी बयलपाटा अस्पताल ल्याएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।
चितुवाले चार बाख्रा मार्यो
अछामको साँफेबगर– १०, ठाँटीका एक किसानको खोरमा पसेर चितुवाले चार बाख्रा मारेको छ। स्थानीय रामबहादुर बोगटीका चार बाख्रा चितुवाले मारेको हो। राति खोरमा पसेको चितुवाले जम्मा नौ बाख्रामध्ये चारवटा मारेको र अन्य दुई बाख्रा फेला नपरेको बोगटीले बताए । तीनवटा बाख्रा भने सकुशल रहेका छन्।
फेला नपरेका अन्य दुई बाख्रा पनि चितुवाले जंगलमा लगेर मारेको हुन सक्ने आशंका गरिएको छ।