१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १२:५२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १२:५२:oo

खोटेहाङ गाउँपालिका– ६, इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्क (उद्यान) मा मगर समुदायको प्रतीक चिह्न खुर्पेटो (घोरप्याक) को प्रतिमा स्थापना गरिएको छ । संघ, प्रदेश स्थानीय सरकारको लगानीमा इन्द्रेणीपोखरीस्थित निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा वडा कार्यालयको लगानीमा निर्माण गरिएको हो। 

वडा कार्यालय इन्द्रेणीपोखरीको पाँच लाख रुपैयाँ लगानीमा खुर्पेटोको प्रतिमा निर्माण गरेर स्थापना गरिएको वडाध्यक्ष वसन्त राई ‘पथिक’ले जानकारी दिए ।  ‘इन्द्रेणीपोखरीलाई पर्यटकीय हबका रूपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । किराँत समुदायको बाबु (चिन्डाे), हिन्दु धर्मावलम्बीका लागि मन्दिर, बालबालिकाका लागि खेलौनासहितका बाल उद्यान निर्माण गरिएको छ,’ उनले भने, ‘इन्द्रेणीपोखरीमा जातीय बाहुल्यको हिसाबमा मगर समुदायको संख्या कम छन् । सबै जातजाति तथा समुदायको पहिचान स्थापित गर्न बहुसांस्कृतिक पार्कमा मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।’

नेपाल मगर संघ इन्द्रेणीपोखरीको समन्वयमा निर्माण गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा खोटहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिक रूपमा अनावरण गरेका हुन् । खुर्पेटोको प्रतिमा अनावरण कार्यक्रममा मगर समुदायको सांस्कृतिक नाच हुर्रासमेत प्रस्तुत गरिएको थियो । 

सो अवसरमा गाउँपालिका प्रमुख मुक्तिले इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको मगर समुदायको प्रतीक चिह्न खुर्पेटोको प्रतिमाले जातीय सदभाव तथा धार्मिक सहिष्णुताको विकास गर्न मद्दत पुर्‍याउने बताए ।

‘आफ्नो अधिकार मागेर होइन, लडेर लिनुपर्छ । हाम्रो भाषा, धर्म तथा संस्कार र संस्कृति लोप हुँदै गइरहेको छ,’ उनले भने, ‘आदिवासी जनजातिको पहिचान भनेको आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति हो । यसलाई सबैले जगेर्ना गर्नुपर्दछ ।’

खुर्पेटो मगर समुदायको धार्मिक एवं सांस्कृतिक प्रतीक चिह्न भएकाले बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटोले मगर समुदायको पहिचानलाई बलियो बनाउने विश्वास गरिएको नेपाल मगर संघ खोटाङका अध्यक्ष युवराज मगरले बताए  । खुर्पेटोको प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यतालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खोटाङकै मूर्तिकार रोजन राईले धरानमा फाइबर प्रयोग गरेर निर्माण गर्नुभएको प्रतीक चिह्न खुर्पेटो आठ फिट अग्लो रहेको नेपाल मगर संघ इन्द्रेणीपोखरीले जनाएको छ ।

खुर्पेटो राखिएको ठाउँमा ६ वटा पाटा बनाएर मगर समुदायको झन्डा, प्रथम सहिद लखन थापामगरको तस्बिर, जातीय वेशभूषा, धर्म तथा सांस्कृतिक क्रियाकलापको तस्बिर र इन्द्रेणीपोखरीका मगर जातिको पुस्तावलीसम्बन्धी शिलालेख राखिएको स्थानीय शिक्षक दलकुमार आलेमगरले जानकारी दिए । 

इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित खुर्पेटोको प्रतिमा सबैको आकर्षणको केन्द्र बनेको छ । नेपाल मगर संघका तत्कालीन केन्द्रीय अध्यक्ष नवीन रोक्कामगरको कार्यकालमा मगर जातिको प्रतीक चिह्न खुर्पेटोको प्रतिमा बनाउने निर्णय भएपछि देशभरका मगर समुदायले आ–आफ्नो क्षेत्रमा निर्माण गरिरहेका छन् ।

परापूर्वकालदेखि प्राकृतिक पोखरी रहेको इन्द्रेणीपोखरीमा निर्माणाधीन बहुसांस्कृतिक पार्कमा संघ, प्रदेश र स्थानीय तहका गरी रु. दुई करोड १२ लाखभन्दा बढी सरकारी कोषको रकम खर्च भइसकेको जनाइएको छ । प्राकृतिक रूपमै पर्यटकीयस्थल इन्द्रेपोखरीको चौतर्फी विकास गर्न भुइँ ढलान, बाल उद्यान, पानीको फोहोरा निर्माण गर्नाका साथै संरक्षणका लागि घेराबारसमेत निर्माण गरिएको छ । 

इन्द्रेणीपोखरीका नाममा रहेको २१ रोपनी सार्वजनिक जग्गामा रहेका प्राकृतिक पोखरीलाई मासेर ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरी बनाइएको छ । स्तरोन्नति नगरेसम्म यो पोखरी जलहाँस र मलेवाको क्रीडास्थल थियो । तर, पोखरीको भुइँमा सिमेन्ट र बालुवाले ढलान गरेपछि वर्षौँदेखि जम्मा भएको पानी सुकेको छ ।  

हरेक नयाँ वर्षमा बृहत् मेला लाग्ने इन्द्रेणीपोखरी समुद्री सतहबाट एक हजार सात सय मिटर उचाइमा पर्दछ । सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृंखला र तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिने यो ठाउँमा निर्माणाधीन बहुसांस्कृतिक पार्क सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।