
अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ। तर, यी बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभाव सामना गरिरहेका छन्।
बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्यान्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको व्यवसायमा कसरी काम गर्न थाले भन्ने कुरा कोट्याउँदै भने, ‘म मेरो टिनका क्यान उत्पादन कम्पनीलाई आगामी पुस्तासम्म जीवित राख्न कटिबद्ध छु, तर ट्रम्पको करवृद्धिले यो कार्यलाई जटिल बनाइरहेको छ।’
गत जनवरीमा राष्ट्रपतिको जिम्मेवारी पुनः सम्हालेपछि ट्रम्पले आयातित स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाएका थिए। यसले इन्डिपेन्डेन्ट क्यानको गतिविधिमा असर गरेको छ। ह्युथरले कम्पनीमा क्यान बनाउने स्टिलको मूल्य अत्यधिक बढेपछि नयाँ खरिद रोकिएको बताए। नयाँ कर नीतिका कारण कम्पनीले क्यानको मूल्य समायोजन गरेर बजारमा सामान पठाउनुको विकल्प नरहेको उनको भनाइ छ।
इस्पात प्लेटको अभाव
ह्युथरको कारखानामा कुकिज, सुक्खा फल, कफी र दुध पाउडरजस्ता दैनिक खाद्य सामग्रीको सुरक्षित भण्डारणका लागि कन्टेनर बनाउन टिनको लेप लगाइएका पाताहरूको प्रयोग गरिन्छ। उनको जस्तो कम्पनीका लागि अमेरिकामा निर्मित टिनप्लेट पर्याप्त छैन।
उनले भने, ‘टिनका भाँडा (क्यान) बनाउन हामी केवल २५ प्रतिशत टिनप्लेट संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्न सक्छौँ। हाम्रो इस्पातको ७० प्रतिशत हिस्सा छिमेकबाट खरिद गर्नुपर्ने अवस्था छ।’
ह्युथर अमेरिकी उत्पादन आधार बढाउने पक्षधर भए पनि विश्वव्यापीकरणको यो समयमा ट्रम्पको विधिहरूले सामान अभाव बढाउने चिन्ता उनलाई छ। ट्रम्पले ठुला करको एक शृंखलाको घोषणा गरेका छन्।
ह्युथरले ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा स्टिलमा गरिएको कर वृद्धिका कारण आयोवामा कम्पनीको एउटा प्लान्ट गत वर्ष आंशिक रूपमा बन्द भएको बताए।
मूल्य वृद्धि
‘यदि राष्ट्रपतिको घोषणाअनुसार इस्पातमा ५० प्रतिशतसम्म कर लगाइएमा उद्योगले अन्ततः २० प्रतिशतभन्दा बढी मूल्यहरू बढाउनुपर्नेछ। किनकि टिनप्लेटले उत्पादन लागतको एक भागको प्रतिनिधित्व गर्दछ,’ ह्युथरले भने। अर्थव्यवस्थाबारे चिन्ता र पर्याप्त व्यवसाय नभएको कारण केही क्रेताहरूले यस वर्ष आफ्नो अर्डरमा २० देखि २५ प्रतिशतले कटौती गरिसकेका उनले बताए।
ह्युथरले कोभिड– १९ संकटको आफ्नो अनुभवलाई उद्धृत गर्दै भने, ‘अहिले अमेरिकीहरू अमेरिकी सामान किन्न इच्छुक देखिन्छन्, तर अभावले मागलाई सम्बोधन गर्न असहज भइरहेको छ। महामारीको समयमा चीनसँगको आयात बन्द भएको र बन्दरगाहहरू बन्द भएकाले हाम्रो व्यापार ५० प्रतिशतले बढ्यो, तर कच्चा सामग्रीको अभावमा माग पूरा गर्न असमर्थ हुनुपरेको थियो। जब महामारी समाप्त भयो, ग्राहकहरू चीनबाट खरिद गर्न थाले।’