१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १o:४४:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाली महिला फुटबलको सयौँ अन्तर्राष्ट्रिय खेल भोलि 

सन् १९८६ मा हङकङविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको नेपालले आइतबार एसियन कप छनोटमा लाओसविरुद्ध सय खेल पूरा गर्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १o:४४:oo

नेपाली महिला फुटबल टोलीले आइतबार लाओसँग प्रतिस्पर्धा गर्दै छ । एसियन महिला छनोटमा लाओसविरुद्धको प्रतिस्पर्धा महिला खेलाडीका लागि विशेष रहनेछ । यो खेल आधिकारिक रूपमा नेपाली महिला फुटबल टोलीको एक सय अन्तर्राष्ट्रिय खेलको कोसेढुंगाका रूपमा दर्ता हुनेछ । आफ्नो ऐतिहासिक खेलमा जित निकाल्न नेपाल आतुर छ । तथ्यांकअनुसार लाओस नेपालको २७औँ प्रतिद्वन्द्वी हो । यसअघि नेपालले विभिन्न २६ राष्ट्रसँग प्रतिस्पर्धा गरिसकेको छ । 

अन्तर्राष्ट्रिय फुटबलकै नयाँ प्रतिद्वन्द्वी लाओस नेपालभन्दा फिफा वरीयतामा तल्लो स्थानमा छ । तर, नेपालले वरीयताका आधारमा नभएर ऐतिहासिक जित निकाल्ने तत्परताका साथ प्रतिस्पर्धा गर्नेछ । उज्वेकिस्तानमा रहेको नेपाली टोलीले लाओससँगको प्रतिस्पर्धालाई विशेष बनाउन विदेशी प्रशिक्षक प्याट्रिक डे दुई सातादेखि कडा मिहिनेत गरिरहेका छन् । 

नेपालले ९९ अन्तर्राष्ट्रिय खेल प्रो लाइसेन्सविना नै प्रतिस्पर्धा गरेको थियो । एएफसी र फिफाले कुनै पनि राष्ट्रिय टोली सम्हाल्न प्रो लाइसेन्स अनिवार्य बनाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक प्रो लाइसेन्सधारीलाई टोलीको जिम्मेवारी दिएको हो । 

सन् १९८६ मा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको थियो । एएफसी महिला च्याम्पियनसिपमा नेपालको पहिलो आधिकारिक अन्तर्राष्ट्रियय खेल हङकङविरुद्ध थियो । रमा सिंहको कप्तानीमा नेपालले हङकङसँगको प्रतिस्पर्धा झिनो १–० ले गुमाएको थियो । त्यसयता नेपालले ४६ जित, १६ ड्र र ३६ हारको नतिजा निकालेको छ । अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेको ३९ वर्षको यात्रा चानचुने होइन । तर दुभाग्र्यवश, लगभग चार दशकको यात्रामा नेपाल उपाधिविहीन छ । दक्षिण एसियाली राष्ट्रमा कीर्तिमानी रूपमा अहिलेसम्म १३ अन्तर्राष्ट्रिय फाइनल खेल्दा पनि नेपालले एकपटक पनि विपक्षीलाई पाखा लगाउन सकेको छैन । धेरैजसो फाइनलमा नेपाल भारतसँग पराजित भएको अवस्था छ । 

पहिलो गोल पेमाको नाममा र सर्वाधिकमा सावित्राको कीर्तिमान
सन् १९८० मा राष्ट्रिय टोली बन्यो । तर, नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाउन ६ वर्ष प्रतीक्षा गर्‍यो । एसिया कप च्याम्पियनसिप छनोट खेल्न एन्फाले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गराउने निधो गर्‍यो । त्यसवेला बागमती, गण्डकी र नारायणीबिच मात्र घरेलु महिला फुटबल हुन्थ्यो । तत्कालीन एन्फाका अध्यक्ष कमल थापाले यसै तीन टोलीका खेलाडी मिलाएर हङकङविरुद्ध खेल्न पठाएका थिए । त्यसवेला बागमतीकी रमा सिंहलाई नै नेपाली टोलीको नेतृत्व जिम्मेवारी दिइएको थियो । रमा सिंहपछि अहिलेसम्म १० जनाले टोलीको कप्तानी गर्ने अवसर पाएका छन् । वर्तमान समयमा अन्जिलाले गोलरक्षकको समेत भूमिका निर्वाह गरेकी छिन् । उनी महिला फुटबल टोलीमा सर्वाधिक कप्तानी गर्ने खेलाडीमा पर्छिन् । अन्तर्राष्ट्रिय डेब्यु गरेको १३ वर्ष मात्र नेपालले विपक्षीको पोस्टमा गोल गर्‍यो । नेपाली महिला फुटबल इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पेमा डोल्मा लामा हुन् । उनले सन् १९९९ को एएफसी महिला च्याम्पियनसिपमा उज्वेकिस्तानविरुद्ध गोल गरेकी थिइन् । स्ट्राइकर सावित्रा भण्डारीका नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल छ । उनले ५८ खेलमा ५७ गोल गरेकी छिन् । उनले अनु लामाको रेकर्ड तोडेकी थिइन् । अनुले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत महिलातर्फको प्रतिस्पर्धामा ३५औँ अन्तर्राष्ट्रिय गोल गरेकी थिइन् ।

सहभागी नै भएन एक दशक अन्तर्राष्ट्रिय खेलमा 
सन् १९८६ मा नेपालले पहिलोपटक एएफसी महिला एसियन कपमा सहभागिता जनाएको थियो । आधिकारिक रूपमा नेपालले एएफसीले आयोजना गर्ने च्याम्पियनसिपको मुख्य प्रतियोगितामा छनोट भएको त्यही नै थियो । हङकङमा भएको एसियन कपमा नेपालले तीन खेलमा १२ गोल खाएको थियो । सन् १९८९ को संस्करणमा नेपाल समूह चरणबाटै बाहिरियो । यसपटक नेपालको पोस्टमा विपक्षीले २५ गोल गरेको थियो । एसियन कपमा लगातार खराब नतिजा व्यहोरेपछि तत्काल एन्फाले सात वर्ष टोलीलाई सहभागी नै गराएन । सन् १९९९ मा एकैपटक नेपालले एसियन कप खेल्यो । यसै प्रतियोगितामा नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल गर्‍यो । यद्यपि, विपक्षीहरूले नेपालको पोस्टमा २९ गोल गरेका थिए । 

सन् १९९१ देखि १९९७ सम्म अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको नेपालले पुनरागमनमा गतिलो नतिजा निकाल्न सकेन । अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागी हुँदा आर्थिक भार हुने र खराब नतिजा व्यहोर्ने भएकाले एन्फाले सन् १९९९ देखि २००९ सम्म कुनै पनि अन्तर्राष्ट्रिय महिला प्रतियोगितामा सहभागी नै गराएन । सन् २०१० मा नेपाली टोलीमा व्यापक परिवर्तन भयो । एक किसिमले टोलीको पुनर्संरचना भएको थियो । ११ वर्षपछि नेपालले सन् २०१० को दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लियो । 

बंगलादेशको ढाकामा भएको प्रतियोतिगामा नेपालले उत्कृष्ट प्रदर्शन गरी फाइनल स्थान सुरक्षित गर्‍यो । तर, फाइनलमा नेपालले भारतसँग पराजित हुँदै रजत पदक हात पार्‍यो । फिफा महिला विश्वकप प्रतियोगितामा नेपालले खासै छनोट खेल खेलेन । सन् १९९१ देखि १९९९ सम्म एन्फाले प्रतियोगिताको छनोट खेलमै सहभागी गराएन । सन् २००३ मा नेपालले छनोट चरणबाट नाम फिर्ता लिएको थियो । सन् २००७ देखि २०१९ सम्मको महिला विश्वकपमा पनि नेपालले छनोट खेलेन । सन् २०२३ को फिफा विश्वकप एसियन छनोटबाट नेपाली महिला टोली बाहिरिएको थियो ।  

१२ राष्ट्रसँग अपराजित
चार दशकको अन्तर्राष्ट्रिय यात्रामा नेपालले २६ राष्ट्रसँग प्रतिस्पर्धा गर्‍यो । जसमध्ये नेपाल १२ राष्ट्रसँग अपराजित छ । अफगानिस्तान, कतार, श्रीलंका, इरान, इराक, कुवेत, किर्गिस्तान, लेबनान, प्यालेस्टाइन, ताजकिस्तान, पाकिस्तान र सिरियासँगको प्रतिस्पर्धामा नेपालले खेल गुमाएको छ । नेपाल यी १२ राष्ट्रसँग अपराजित नै छन् । नेपालले धेरैपटक श्रीलंकालाई हराएको छ । श्रीलंकालाई आठ अन्तर्राष्ट्रिय खेलमा नेपालले पराजित गरेको छ । अफगानिस्तान, कतार, किर्गिस्तान र लेबनानविरुद्धको सामान दुई खेलमा नेपाल विजयी भएको छ । कुवेत, इरान, इराक, ताजकिस्तान र सिरियाविरुद्ध समान एक खेलमा नेपालले जित निकालेको छ । दक्षिण एसियाली राष्ट्र पाकिस्तानलाई चार खेलमा पाखा लगाएको रेकर्ड छ ।