
वीरगन्ज महानगरपालिका– ६ स्थित गहवामाईको रथयात्रामा सहभागी महिलाहरूको गरगहना चोरी भएको छ। नगर परिक्रमा गर्न शुक्रबार बिहान निस्केको रथयात्रामा सहभागी दुई दर्जनभन्दा बढी महिलाको गरगहना चोरी भएको हो।
गरगहना चोरी भएकाहरूले सामूहिक रूपमा जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका पर्सा प्रहरीले जनाएको छ। पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार अहिलेसम्म ६ जनाले गहना चोरी भएको निवेदन दिएका छन्।
चोरी गर्ने क्रममै भारत बिहारकी ४० वर्षीया जयमती हरिजन पक्राउ परेकी उनले बताए। पक्राउ परेकी हरिजनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु सहभागी थिए। श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथयात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा गरेको हो।
तीन तहको सुरक्षा व्यवस्था मिलाइएको रथयात्रा मन्दिरबाट निस्केर घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको इदगाह चोक हुँदै वीरगन्जको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको छ।