
सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार आगामी वर्षमा सो विभाग स्थापना गरिनेछ । सो कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए । उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए।
‘लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ,’ गृहमन्त्री लेखकले भने, ‘गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रम अघि बढाएको छ ।’ लागुऔषध सेवन दुर्व्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइमलगायतका घटना हुने गरेको बताए ।
लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको उल्लेख गरे । ‘एक लाख ३४ हजारजना लागुऔषध सेवनकर्ता रहेको तथ्यांक छ। समाज नराम्रोसित प्रभावित हुँदै छ,’ उनले भने, ‘मुलुकभरका कारागाराका कैदीबन्दीमध्ये दोस्रो ठुलो संख्यामा लागुऔषध दुर्व्यसन, ओसारपसार, भण्डार गर्नेको संख्या छ । यसबाट पनि यसको अवस्था प्रस्ट हुन्छ ।’
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।