१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार २३:o२:oo
Read Time : > 4 मिनेट
फिचर

सुशासनको ऐना ‘आयोजना नम्बर १६०’

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार २३:o२:oo

कलाकार आफ्नो दुःख लुकाउँछन् र अरूलाई खुसी बनाउँछन् । स्टेज सजाउँछन्, दर्शकको मनमा रंग छर्छन् । तर, रियल लाइफको ब्याकस्टेजमा के हुन्छ, त्यो देखाउँदैनन् ।

आफैँले श्रम गरेर बनाएको नाटकघरभित्र दर्शक पेट मिचिमिची हाँस्छन् । भावुक भएर रुन्छन् र बाहिर निस्कन्छन् । तर, एउटा दुःख, कदम थिएटर दमकका कलाकारले चाहेर पनि लुकाउन सकेका छैनन् । सरकारले पिँध फर्काएर बनाएको नाममै विवाद भएको सभागृहमा बर्सेनि करोडौँ बजेट आइरहेको छ । तर, सञ्चालन भइरहेको छैन । सभागृहले कदम थिएटरका कलाकारलाई शक्तिको आडमा जहिल्यै गिज्याइरहेको छ । कदम थिएटर उसलाई हेरेर पीडा लुकाएर मुस्कुराइरहेको छ । धेरैले दमकलाई प्रधानमन्त्रीको गृहनगर भनेर चिन्छन् । तर, अहिले दमक कलाको क्षेत्र हो भनेर चिनाउन कदम थिएटर एक हदसम्म सफल छ । उसले आफ्ना दुःख लुकाएर दर्शकलाई हँसाइरहेको छ । कदम थिएटरले योपटक मञ्चन गरिरहेको नाटक ‘आयोजना नम्बर १६०’ को ‘गहिरो आइरोनी’ नै यही हो ।

थिएटरको सपनाको घर बन्न सुरु भएको सात वर्ष भयो । तर, अहिलेसम्म यसले आकार लिन सकेको छैन । कदमका कलाकारका लागि यो घर कुनै सरकारको ‘ड्रिम प्रोजेक्ट’भन्दा सानो छैन । प्रदेश सरकारले कदम थिएटरको नाममा बजेट विनियोजन गरेपछि ०७५ सालबाट सेउपाखा बहुसांस्कृतिक नाटक घर निर्माण सुरु भयो । केही काम पनि भयो । तर, यो पनि सरकारको योजना बनाउने र बिचमै अलपत्र छाड्ने प्रवृत्तिकोे कोपभाजनमा प¥यो । अलपत्र नाटक घरनजिकै कलाकारले आफ्नै मिहिनेतले एउटा सानो घर बनाए । उनीहरू यहीँ साधना गर्छन् । दर्शकलाई नाटक देखाउँछन् । तराईको गर्मीमा असिनपसिन हुँदै उनीहरू कला प्रदर्शन गर्छन् । नाटक हेर्ने दर्शक नै पसिना पुस्दै नाटक घरभित्रबाट निस्कन्छन् । निजी खर्चमा नाटक देखाउने कलाकारको अवस्था के होला ? चर्को गर्मीमा नाटक तयार कसरी गरे होलान् ? सायद अलपत्र परेको सुविधासम्पन्न नाटकघरमा राखिने एसी कल्पना गरे होलान् ? 

यसपटक कदमले सरकारकै बेथितिविरुद्ध नाटक बनाएको छ । योजना ल्याउने तर पूरा नगर्ने प्रवृत्तिलाई देखाएको छ, नाटक ‘आयोजना नम्बर १६०’ । यो नाटक तयार गर्दै गर्दा कलाकारहरूले आफ्नै आँगनमा बन्दै गरेको नाटकघरलाई हेरे होला सायद । उनीहरूको नाटक घर छेउमै रहेको भव्य सभागृह सम्झे होला ? बनेको तीन वर्षसम्म पनि यो सभागृह किन चलेन ? अध्ययन गरे होला । त्यसैले त बेथितिविरुद्ध शक्तिशाली नाटक तयार पारे । दमकमा नियमित नाटक मञ्चन गर्दै आएको कदम थिएटले ५ असारबाट नाटक ‘आयोजना नम्बर १६०’ मञ्चन गरिरहेको छ । भारतीय लेखक अजय शुक्लाको नाटक ‘ताजमहलका टेन्डर’बाट नाटक ‘आयोजना नम्बर १६०’ रूपान्तरण गरिएको हो । 

‘आयोजना नम्बर १६०’ मा एकजना सत्तामा आसीन व्यक्ति छन् । जसलाई सरकार नाम दिइएको छ । ती सरकारले एक रात मृत्यु भएकी श्रीमती ‘फस्ट लेडी’लाई सपनामा देख्छन् । सपनामा ‘फस्ट लेडी’ले आफ्नो नाममा केही स्मारक बनाउन भन्छिन् । ती सरकार ‘ओम भ्याली’ बनाउने निष्कर्षमा पुग्छन् । उनले आफ्ना सुपरिटेन्डेन्ट इन्जिनियरसहित आसेपासेलाई सपना सुनाउँछन् । सुरुमा त उनीहरू यो हुनै नसक्ने सपनाको रूपमा अथ्र्याउँछन् । तर, जब आयोजनाको लगानी ९९ अर्ब सुन्छन्, उनीहरूको दिमागको बत्ती खुल्छ । यो आयोजना अघि बढाउन तातिन्छन् । सरकारको ‘ड्रिम प्रोजेक्ट’ कसरी सरकारी ढिलासुस्तीको चंगुलमा पर्छ भन्ने वरिपरि नाटक घुमेको छ । यो आयोजना कसरी अलपत्र पर्छ भन्ने हेर्न कदम थिएटरको ‘पाङ्वाइला हिम (नाटक घर)’ सम्म पुग्नुपर्छ ।

नाटकमा सरकारी आयोजना सुरु गरेर अलपत्र पार्ने प्रवृत्तिलाई राम्ररी देखाइएको छ । सरकारले आफ्नो सपना र सनकका भरमा कसरी हचुवाका योजना ल्याउँछन् भन्ने विषय प्रस्टसँग देखाएको छ । सरकारी कर्मचारीले बिचौलियासँग मिलेर सरकारी ढुकुटीलाई कसरी खोक्रो बनाइरहेका छन् भन्ने नाटकमा देखाइएको छ । कर्मचारी मात्र होइन, अभियन्ता, नेता, अख्तियार र सरकारका आसेपासेले कसरी योजनालाई ‘दुहुनो गाई’ बनाइरहेका छन् भन्ने प्रस्ट पारेको छ । हुन त नाटक काल्पनिक नै हुन्छ । तर, नेपालमा यो प्रवृत्ति ठ्याक्कै मिल्ने अवस्था छ । 

‘छाया’मा देखाइएका क्रियाकलापले नाटकलाई झनै सुन्दर बनाएको छ । यसले सत्तामा बस्नेले छायामा के गरिरहेका छन् भन्ने देखाउँछ । नाटकको सुन्दर पक्ष यसमा प्रयोग भएका ‘लेयर’ हो । हिजो सस्तो लुगा लगाउने कर्मचारी आयोजनाको काम अघि बढ्दै गर्दा कसरी महँगो लुगामा पुगेका छन्, त्यसलाई ‘लेयर’ मा देखाइएको छ । नाटककी पात्र छिन्, अर्चना । उनले बिचौलियाको पैसामा चलाएको रजगजले हाम्रो सुशासनमा गहिरो प्रश्न खडा गरेको छ । आयोजना अलपत्र पारेर सुपरिटेन्डेन्ट इन्जिनियर पाँचातारे होटेल बनाउँदै छन् । सरकार दिन–प्रतिदिन कमजोर हुँदै छ । तर, कर्मचारीको जीवनशैली फेरिँदै छ । यसले नेपालका आयोजना किन अलपत्र छन् भन्ने देखाउँछ । सरकारका आसेपासे, जसलाई सल्लाहकार भनिन्छ, उनीहरू कमिसनको लोभमा देशलाई खोक्रो बनाउन लागिपरेको दृश्य नाटकको सुन्दर पक्ष हो । नाटकमा एउटा कार्यालय सहयोगी छन् । उनी हुन्, कृष्णकुमार चौधरी । उनलाई सरकारको ‘ड्रिम प्रोजेक्ट’ ओम भ्यालीबारे कुनै सरोकार छैन । उनी हाकिमले खाएको कमिसनमा बेखबर र बेमतलबी छन् । तर, उनलाई राज्यसत्ताले कसरी दोषी करार गरेर आत्महत्या गर्न बाध्य बनाउँछ भन्ने प्रस्ट देखाएको छ । यो नाटकको सशक्त पक्ष हो । नेपालमा चलिरहेको ‘ठुलो माछा, सानो माछा’को कथा अर्थात् ठुला भ्रष्टाचारी छुट्ने, सानालाई दोषी करार गर्ने प्रवृत्तिलाई पनि देखाएको छ । नाटकमा आयुष भण्डारीले चलाएको लाइटले सुन्दरता थपेको छ ।

नाटकका राम्रा पक्ष धेरै हुँदाहुँदै पनि सुधार गर्नुपर्ने पक्ष पनि केही छन् । कदम थिएटरका कलाकार बुङ छेङले नेपालको सुशासनमाथि प्रश्न गर्दै तयार पारेको गीत निकै उत्कृष्ट छ । यसलाई कदमले रेकर्ड गराएको छ । यो गीत नाटकको सुरुमै राखिएको छ । यद्यपि, गीत रेकर्ड गरेर बजाइएको छ । प्रायः नाटकमा संगीत प्रत्यक्ष देखाइन्छ । कदमले पनि यसअघिका नाटकमा यही गर्दै आएको थियो । संगीतले नाटकमा जति कथा बोक्नुपर्ने हो, त्यति बोक्न सकेको छैन । यस गीतलाई कलाकार आफैँले गाएको भए अझै वास्तविक बन्थ्यो । दर्शकले महसुस नै गर्ने गरी नाटकमा कलाकारले डाइलग बिगार्छन् । सरकारी कार्यालयमा प्रयोग भएका पोसाकमाथि पनि प्रश्न गर्न सक्ने ठाउँ छ । यसमा निर्देशक र कलाकारले ध्यान दिनुपर्ने जरुरी छ । हुन त चिया पसलमा सरकारी कार्यालयको सुशासनलाई निकै हलुका रूपमा लिइन्छ । त्यहाँ हुने सेवा प्रवाह, जनताका अपेक्षा र सरकारी कार्यालयका काम निकै हलुका रूपमा चर्चा हुन्छ । तर, कदमले तयार पारेको नाटक ‘आयोजना नम्बर १६०’ मा अख्तियारको आयुक्तको पात्रलाई त्योभन्दा हलुका रूपमा प्रस्तुत गरिएको छ । यो पात्रलाई सशक्त बनाउन सके नाटक अझै उत्कृष्ट हुने थियो । 

नेपालका थुप्रै सहरले यो नाटक देख्न सक्छन् । महसुस गर्न सक्छन् । तर, सबैभन्दा बढी यो नाटकको प्रभावकारिता दमकसँग छ । यहाँ नचलेको अरबौँको भ्युटावर छ । करोडौँको सभागृह छ, त्यो पनि चलेको छैन । बन्दै नबनेको औद्योगिक पार्क छ । सहिद वन बाटिकाको सपना छ । जुन दमक नगरपालिकाको सपनामा मात्रै सीमित छ । जसको नाममा जनताले तिरेको कर दुरुपयोग भइरहेको छ । तसर्थ, दमकका लागि यो ‘फार्स’ यथार्थको चित्रण हो । 

१५ असारसम्म कदम थिएटरमा मञ्चन हुने नाटक ‘आयोजना नम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभिनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेका हुन् । अजय शुक्लाको हिन्दी नाटक ‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेका हुन् ।