१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १२ बिहीबार o९:५२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वरीयतामा सन्दीप र ललितको छलाङ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o९:५२:oo

नेपालका लेगस्पिनर सन्दीप लामिछाने तथा स्पिनर ललित राजवंशीले आइसिसीले बुधबार सार्वजनिक गरेको टी–२० आई बलिङ वरीयतामा ठुलै फड्को मारेका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीपले बलिङ वरीयतामा एकैपटक ४१औँ स्थान सुधार गरेका छन् । उनी अहिले ७५औँ स्थानमा पुगेका छन् । यसअघि सन्दीप ११६औँ स्थानमा थिए । 

गत शुक्रबार स्कटल्यान्डमा सम्पन्न त्रिकोणात्मक टी–२० आई सिरिजमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका कारण सन्दीपले ४१ स्थान सुधार गरेका हुन् । उनले चार खेलमा नेपालबाट सर्वाधिक नौ विकेट हात पारेका थिए । उनले नेदरल्यान्ड्सविरुद्ध दुवै खेलमा गरी चार तथा स्कटल्यान्डविरुद्ध पाँच विकेट हात पारे । यसअघिको वरीयतामा उनी शीर्ष सयभन्दा बाहिर थिए । 

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल उपविजेता हुँदा स्पिनर ललितको भूमिका पनि महत्वपूर्ण रह्यो । यसकारण उनले टी–२० बलिङ वरीयतामा २९ स्थान सुधार गर्न सफल भए । नयाँ वरीयतामा उनी ५४औँ स्थानमा पुगेका छन् । नेपाली बलरमध्ये टी–२० बलिङ वरीयतामा माथिल्लो स्थानमा पुगेका खेलाडी नै ललित हुन् । टी–२० आई सिरिजमा उनले समग्रमा चार विकेट लिए पनि कसिलो बलिङ गरेका थिए । बलिङ वरीयतामा नेपालका तेस्रो बलरका रूपमा शीर्ष सयभित्र दीपेन्द्रसिंह ऐरी समावेश भएका छन् । एक स्थान गुमाएका दीपेन्द्रले ८१औँ स्थान पाएका छन् । आइसिसीको टी–२० बलिङ वरीयतामा न्युजिल्यान्डका जाकोव डफी शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा इंग्ल्यान्डका आदिल रसिद तथा तेस्रो स्थानमा वरुण चक्रवर्ती रहेका छन् । 

ललित र सन्दीपभन्दा को–को पछि ?
ललित र सन्दीपले बलिङ वरीयतामा ठूलो छलाङ मार्दा विश्वचर्चित बलर पछि परेका छन् । विशेषत: ललितले वर्तमान समयकै राम्रा बलरलाई वरीयतामा पछाडि पारेका छन् । उनले दक्षिण अफ्रिकाका ओटिनेल, न्युजिल्यान्डका टेन्ट बोल्ट, पाकिस्तानका इमाद वासिम, पाकिस्तानकै सहदाव खान र इंग्ल्यान्डका फास्ट बलर साम कुरानलाई वरीयतामा पछि पारेका छन् । अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क ६६औँ स्थानमा छन् । उनी ललितभन्दा १२ स्थान पछाडि रहे । सन्दीपको भन्दा एक स्थान अगाडि भारतका मोहमद सिराज छन् । उनले नेदरल्यान्ड्सका पाउल भान, बंगलादेशका सोरिफुल इस्लाम, न्युजिल्यान्डका माइकल ब्रासवेल तथा अफगानिस्तानका मोहमद नाबीलाई पछाडि पारे । 

दीपेन्द्रसिंह अलराउन्डरको तेस्रो स्थानमै
समग्रमा नेपाली खेलाडीमध्ये आइसिसी वरीयतामा माथिल्लो स्थानमा रहेका खेलाडी दीपेन्द्रसिंह ऐरी हुन् । आइसिसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह तेस्रो स्थानमै रहेका छन् । अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष र अस्ट्रेलियाका मार्कोस स्टोनिस दोस्रो स्थानमा छन् । हार्दिकले २५२, स्टोनिसले २१० र दीपेन्द्रसिंहले २०९ रेटिङ अंक पाएका छन् । रेटिङमा एक अंकले पछाडि रहँदा दीपेन्द्रसिंह तेस्रो स्थानमा रहेका हुन् । उनले स्कटल्यान्डमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा तीन विकेट हात पारेका थिए । यसैगरी ब्याटिङमा उनले चार खेलमा ६९ रन जोडेका थिए । अलराउन्डर वरीयतामा उनले अफगानिस्तानका मोहमद नाबी, श्रीलंकाका वानिन्दु हसरंगा, इंग्ल्यान्डका लिआम लिभिङस्टोनलाई पछि पारेका छन् । 

भुर्तेलले सुधारे १० स्थान
नेपालका ओपनर कुशल भुर्तेलले टी–२० आई ब्याटिङ वरीयतामा एकैपटक १० स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार भुर्तेल ८३औँ स्थानमा पुगेका छन् । यसअघि उनी ९३औँ स्थानमा थिए । ब्याटिङसँगै टी–२० आई अलराउन्डर वरीयतामा पनि भुर्तेलले भने ६ स्थान सुधार गरेका छन् । नयाँ वरीयताअनुसार उनी ३२औँ स्थानमा छन् । उनले १०६ रेटिङ पाएका छन् । भुर्तेलभन्दा एक स्थान अगाडि भारतका शिभम दुबे रहेका छन् । भुर्तेलले न्युजिल्यान्डका जेम्स नसिम, अस्ट्रेलियाका मिचेल मार्स, भारतका वासिङटन सुन्दर, अस्ट्रेलियाकै कामरोन ग्रिन तथा अफगानिस्तानका गुल्बदिन नैबलाई पछाडि राखे । 

भुर्तेलले त्रिकोणात्मक सिरिजको चार खेलमा गरी १३३ रन बनाउनुका साथै स्कटल्यान्डविरुद्धको अन्तिम खेलमा २० रन खर्चेर दुई विकेट लिएका थिए । उनले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा एक विकेट हात पारेका थिए । अलराउन्डरमा नेपालका अन्य खेलाडीले सुधार गर्न सकेनन् । नेपालका कप्तान रोहित पौडेलले अलराउन्डर वरीयतामा पाँच स्थान गुमाएका छन् । उनी अहिले ६६औँ स्थानमा छन् ।

नेदरल्यान्ड्स र स्कटल्यान्डसँगको टी–२० सिरिज गुमाएका गुल्सन झा भने ६१औँ स्थानमा छन् । उनले आठ स्थान गुमाए । यसैगरी, नेपाली टोलीमा नरहेका कुशल मल्ल ६६औँ स्थानमा छन् । फास्ट बलर करण केसीले एक स्थान गुमाउँदा ८१औँ वरीयतामा रहे । टी–२० ब्याटिङ वरीयतामा कप्तान रोहितले दुई स्थान गुमाउँदा ६६औँ स्थानमा रहे । यसैगरी, आसिफ शेख ७८औँ स्थानमा छन् । उनले दुई स्थान गुमाएका ह्ुन् । 

आरिफको एकदिवसीय ब्याटिङ वरीयतामा सुधार
नेपाली राष्ट्रिय टोलीका आरिफ शेखले एकदिवसीय ब्याटिङ वरीयतामा १३ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी ९०औँ स्थानमा पुगेका छन् । यसअघि उनी शीर्ष १०० बाट बाहिर थिए । ओपनर आसिफ शेखको वरीयता खस्किएको छ । उनी ९० बाट ९४औँ स्थानमा पुगेका छन् । भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेका छन् । कप्तान रोहित ९९ मा पुगेका छन् । यसैगरी, एकदिवसीय बलिङ वरीयतामा सन्दीप ५४औँ स्थानमा रहे । उनले एक स्थान सुधार गरेका हुन् । दीपेन्द्रसिंह ऐरीले तीन स्थान गुमाए । करण ८४औँ स्थानमा छन् । उनले बलिङ वरीयतामा सात स्थान गुमाएका हुन् । 

दीपेन्द्रले छाडे पुलिस 
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनी प्रहरीमा हवल्दारका रूपमा कार्यरत थिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ऐरीले केही दिनअघि राजीनामा दिएका थिए । प्रहरीले ऐरीको राजीनामा स्वीकृत गरिसकेको छ । सन् २०१६ मा उनी प्रहरी सेवामा प्रवेश गरेका थिए । ऐरी प्रहरीको पुरुष क्रिकेट टोलीका कप्तानसमेत हुन् ।