
बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार सुरु भएको नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र न्यू डाइमण्ड युथ स्पोर्टस क्लब विजयी भएका छन् ।
हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो दिनको खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेश र न्यु डाइमण्डले अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।
शनिबारको पहिलो खेलमा विभागीय नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गर्दै प्रभावशाली सुरुवात गरेको हो। पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ स्कोरमा सहज जित निकाल्यो ।
यस्तै, शनिबार नै भएको दोस्रो खेलमा न्यू डाइमण्डले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २७–२५, २५–१५ र २५–२२ को सेटमा पराजित गर्दै महत्वपूर्ण जित हासिल गर्यो ।
प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको छ । सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डाइमण्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको उद्घाटन हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी हुन् । उनले हेटौँडामा पछिल्लो समय महिलाका राष्ट्रिय प्रतियोगिता हुन थालेकोमा खुशी व्यक्त गरिन् । उनले यसअघि जेठमा महिला फुटबलको राष्ट्रिय प्रतियोगिता भएको स्मरण गराउँदै हेटौँडा उपमहानगरपालिका खेल आयोजना र खेलाडी उत्पादनका दुबै हिसाबले अब्बल बन्दै गएको बताइन् ।
उनले प्रतियोगिता आयोजना गर्न र खेलाडी उत्पादनका लागि आवस्यक पर्ने खेल पूर्वाधारको विकासका लागि उपमहानगरपालिकाले ध्यान दिइरहेको बताइन् ।