
स्कटल्याण्डमा भएको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत निर्णायक खेलमा नेपाल पराजित भएको छ । अन्तिम खेलमा नेपाललाई ३४ रनले हराउँदै स्कटल्यान्ड सिरिजको च्याम्पियन बनेको हो ।
अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा पावर प्लेमै चार विकेट गुमाएको नेपाल १५९ रनमै समेटियो । शृंखलामा तीनै टिमले दुई–दुई जित हात पारे पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड विजयी भएको हो । नेपाल दोस्रो बनेको छ ।
पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग सुपरओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेकोमा चौथो र निर्णायक खेलमा नेपालले कमजोर प्रदर्शन गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा पाँच विकेट गुमाएर १९३ बनाएको थियो ।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले दुई, रूपेश सिंह, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए। दीपेन्द्रसिंह ऐरीले चार ओभरमा ५० रन तथा रिजन ढकालले तीन ओभरमा ३५ रन दिँदा विकेट लिन सकेनन् ।
नेपालको ब्याटिङतर्फ रूपेश सिंहले २२ बलमा ४३ रन बनाएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३४, रोहित पौडेलले २७ बाहेक अन्य खेलाडीले सस्तोमै आउट भएपछि नेपाल १८.५ ओभरमै अलआउट भयो।