
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि उनले सरकारले सदनलाई हेपेको बताएका हुन्। उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्तिसमेत जनाएका छन्। सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो।
‘सरकारले यो सदनलाई यत्ति हेपेको छ। यसको बयान गरी साध्य छैन। बारम्बार हामीलाई कार्यसूची आउँछ। फेरि कार्यसूची हटाइन्छ। कारण सोध्दा मन्त्रीको उपस्थिति छैन,’ उनले भने, ‘सदनमा आन्दोलन भएको यत्रो समय भयो। त्यसको जवाफदेही पनि छैन। सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो। आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न। यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो।’
पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि नबढाउन पनि आग्रह गरेका थिए। त्यस्तै, उनले सांसदले नियमावली मान्नुपर्ने, तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गरेका थिए ।