
पूर्वी नवलपरासी जिल्लाको विनयत्रिवेणी गाउँपालिका– १, दुम्कीबासस्थित विनय खोलामा पानीको बहाव बढ्दा यात्रुवाहक बसमा फसेका यात्रुको सशस्त्र प्रहरी र नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ । उद्धार गरेको करिब १० मिनेटमा नै सो बस खोलाले बगाएको छ ।
काठमाडौंबाट दाङका लागि छुटेको भे.१ख ४०८५ नम्बरको यात्रुवाहक बस बिहीबार राति करिब १२ बजे उक्त खोलामा फसेको थियो । सो गाडीमा ४० जना यात्रु सवार रहेका थिए ।
उनीहरूमध्ये २७ जना खोलाभित्र फसेकोमा उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद कार्कीको कमान्ड तथा सुरक्षा बेस चोरमारा र सर्दीबाट खटिएको सुरक्षा फौजले क्रेन र डोजको सहायताले सकुशल उद्धार गरेको हो । बसमा सवार अन्य यात्रुहरू भने फस्नसाथ पानीबाहिर निस्किएका थिए । उद्धार गरिएका सबै यात्रुको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। बगाएको बस केही तल भेटिएको छ।