१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ५ बिहीबार
  • Thursday, 19 June, 2025
२o८२ असार ५ बिहीबार १६:४५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडामा बढ्दो सुरक्षा चुनौती, आक्रमणको निशानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ असार ५ बिहीबार १६:४५:oo

बागमती प्रदेशको राजधानी हेटौँडाले पछिल्ला दिनमा निरन्तर सुरक्षा संकटको सामना गरिरहेको छ । जनप्रतिनिधिदेखि व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणले नगरवासीमा त्रासको वातावरण सिर्जना गरेको छ । 

दिनदहाडै सार्वजनिक स्थानमा जनप्रतिनिधि र व्यवसायीमाथि भएका आक्रमण र प्रहरी प्रशासनको निष्क्रियताप्रति स्थानीय नागरिक, राजनीतिक दल र सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय हेटौँडासहित मकवानपुरको सुरक्षा संयन्त्र अत्यन्त फितलो देखिएको हो । हेटौँडा उपमहानगरपालिका पछिल्ला दिनमा एकपछि अर्को सुरक्षाजन्य घटनाले अक्रान्त बन्दै आएको छ । 

हेटौँडामा दिनदहाडै कुनै समूहबाट आमनागरिकहरूमाथि आक्रमणको घटना भइरहेको छ । पछिल्लो समयको घटना मात्र विश्लेषण गर्ने हो भने हेटौँडामा एकजना वडाध्यक्ष र व्यवसायीमाथि शृंखलाबद्ध रूपमा आक्रमणका घटनाहरू भइरहेका छन् ।

घटना– १ कार्यकक्षमै पिटिए वडाध्यक्ष न्यौपाने

४ असार (बुधबार) हेटौँडामा एक समूहको आक्रमणबाट जनप्रतिनिधि घाइते भए । हेटौँडा उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर– १ का वडाध्यक्ष सविन न्यौपानेमाथि बुधबार दिउँसो वडा कार्यालयभित्रै आक्रमण भयो । 
दिउँसो ३ः५० बजेतिर कार्यकक्षमै बसेका न्यौपानेमाथि दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित युवाको समूहले कालो मोबिल छ्यापेर हातपात गरेका थिए । घटनामा न्यौपानेको टाउकोमा चोट लागेको छ भने शरीर र लुगामा कालो मोबिल छ्यापिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेहरू  घटनापछि तुरुन्त फरार भएका थिए । उनीहरूको खोजी जारी छ । घटनाको २४ घण्टा पुग्दासमेत आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी श्यामु अर्यालका अनुसार वडाध्यक्ष न्यौपानेमाथिको हातपातको घटनाबारे अनुसन्धान जारी छ । सिसिटिभी फुटेज विश्लेषण गरेर घटनामा संलग्नहरूको पहिचान गर्ने काम भइरहेको उनको भनाइ छ । छिट्टै नै दोषीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइने उनले दाबी गरे ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार भूमिहीन सुकुम्बासीको व्यवस्थापनसँग सम्बन्धित जग्गा विवाद अध्यक्ष न्यौपानेमाथि आक्रमणको कारण हुन सक्ने देखिएको प्रहरी प्रवक्ता अर्यालले बताए ।

उक्त घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन उपमहानगरपालिकाले कार्यपालिकाबाट निर्णय गरेर विज्ञप्तिसमेत जारी गरेको छ । उता सो घटनाको विषयमा अध्यक्ष न्यौपानेआबद्ध पार्टी कांग्रेसका जिल्ला, प्रदेशदेखि शीर्ष नेतृत्वले समेत छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् भने जिल्लामा क्रियाशील राजनीतिक दलहरूले समेत घटनाको निन्दा गरेका छन् । उनीहरूले समस्याको समाधानको वैकल्पिक उपाय भौतिक आक्रमण नभई सो कार्य लोकतन्त्रप्रतिको अवमूल्यन भएको ठहर गर्दै समस्या समाधानको विकल्प संवाद र समझदारीलाई उपहास गरी जनप्रतिनिधिमाथि भएको अक्रमणमा संलग्नलाई कारबाहीको माग गरेका छन् । 

घटना– २ सार्वजनिक स्थलमा व्यवसायीमाथि आक्रमण 

त्यसो त वडाध्यक्ष न्यौपानेमाथिको घटना हेटौँडाका लागि पहिलो होइन । प्रहरी कार्यालय सामुन्ने गत साता मात्र एक व्यवसायीमाथि निर्घात कुटपिट भएको थियो । 

उक्त घटनामा पनि प्रहरी प्रशासन निरीह बनेको छ । हेटौँडा– १० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ का सञ्चालक विन्दल दासमाथि एक समूहले आक्रमण गरेर घाइते बनाएको थियो । तीनवटा मोटरसाइकलमा आएका आठ–नाैजनाको समूहले दासमाथि सार्वजनिक स्थानमै कुटपिट गरेका थिए । घटनामा दासको टाउकोमा चोट लागेको थियो । उनी हेटौँडा अस्पतालमा उपचाररत छन् । 

उक्त घटनामा संलग्न रहेकामध्ये प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार घटनामा संलग्न समूहको खोजी भइरहेको छ ।यसअघि ०८० भदौमा हेटौँडा– १ स्थित सन्चाे अस्पताल प्रालिमा कार्यरत दुईजना डाक्टरमाथि पनि अस्पतालभित्रै कुटपिटको घटना भएको थियो ।

सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र हेटौँडा अस्पतालका डा. प्रशान्त बिडारीमाथि एक समूहले आक्रमण गर्दा प्रहरीले तीन दिनसम्म दोषीलाई पक्राउ गर्न सकेको थिएन ।उक्त घटनापछि डा. थापो हेटौँडा नै छाड्नुपरेको थियो भने डा. बिडारी सरकारी अस्पताल हेटौँडा अस्पतालमा सेवारत रहेका छन् । 

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधकारी स्किम श्रेष्ठले पछिल्लो समय देशभर नै सुरक्षा चुनौती बढेको बताए । सुरक्षा चुनौती बढ्नु–घट्नु परिस्थितिजन्य ‘स्वाभाविक’ अवस्था रहेको उनको भनाइ छ । 

प्रहरी प्रशासनले शान्ति सुरक्षा अमनचयनका लागि गम्भीरताका साथ काम गरिरहेको उनको दाबी छ । घटना घट्नु स्वाभाविक प्रक्रिया भएको र त्यसमाथि छानबिन गर्नु प्रहरी–प्रशासनको दायित्वको रूपमा काम गर्दै आएको उनकाे भनाइ छ।जिल्लामा भएका घटनाहरूलाई विश्लेषण गरी दोषी र अपराधीहरूलाई पक्राउ गर्ने काम जारी रहेको उनले भनाइ छ । घटनाको अनुसन्धान गरेर संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन प्रशासनले भूमिका खेलिरहेको उनले स्पष्ट पारे।